global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कवि दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण

कवि दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण

कवि दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण

काठमाडौं । कवि दिनेश विक्रम थापाको नयाँ कविता कृति ‘जयसिंह धामीको देश’ एक विशेष कार्यक्रमबीच लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेलगायत अतिथिहरूले कृतिको विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै डा. घिमिरेले कविता लेखन गम्भीर र चुनौतीपूर्ण विधा भएको उल्लेख गर्दै पाठकको मनमा बस्ने कविता सिर्जना गर्नुपर्ने बताए। उनले दिनेश विक्रम थापाका कविताहरू स्पष्ट, मार्मिक र चित्रजस्तै जीवन्त रहेको धारणा राखे।

‘कविता लेख्न गाह्रो छ, अझ पाठकको मनमा बस्ने कविता लेख्न झन् कठिन हुन्छ,’उनले भने, ‘थापाका कविता भने पाठकसम्म सहज रूपमा पुग्ने खालका छन्।’

कवि विधान आचार्यले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै थापाले इमानदारीपूर्वक कविता लेखेको बताए। उनका अनुसार २५ शीर्षकमा आधारित संग्रहका कविताहरूमा दुई सयभन्दा बढी पात्रहरूको चरित्र चित्रण गरिएको छ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिभित्रका कविताले विशेषगरी सुदूरपश्चिमका नेपालीहरूको यथार्थ अवस्थालाई चित्रण गरेको धारणा राखे। कवि थापाले आफ्नो सिर्जनात्मक यात्राबारे बोल्दै कविता समाजका विकृति र अव्यवस्थाविरुद्धको सशक्त अभिव्यक्ति भएको बताए। उनले समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्षलाई बिम्ब बनाएर कविता लेख्ने प्रयास गरेको उल्लेख गरे।

कार्यक्रममा साहित्यकार रामबहादुर पहाडी, विनोद नेपाल, लक्ष्मी पराजुली तथा कविका पूर्व शिक्षक तुलसीदास गौतमले पनि शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा रीता खत्री र कमला थापालगायतले संग्रहभित्रका कविता वाचन गरेका थिए।

जयसिंह धामीको देशमा सामान्य नेपाली नागरिक जय सिंह धामीको मृत्युबाट उत्पन्न सामाजिक, राजनीतिक र कूटनीतिक प्रश्नलाई केन्द्रमा राखिएको छ। संग्रहमा गरिबी, राष्ट्रियता, विदेश पलायन, युद्ध, नारी संघर्ष, वातावरण तथा विद्रोहजस्ता विविध विषय समेटिएका २५ कविता समावेश छन्।

कवि थापाका यसअघि प्रकाशित कृतिहरूमा समय रक्तस्नान गरिरहेछ, ज्योतिका युगीन स्वरहरू तथा तेस्रो फूल रहेका छन्।

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु