गृहपृष्ठ ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक
‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक
काठमाडौं। यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ ।
दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको अवस्थामा निर्माण पक्षले तेस्रो गीतका रूपमा यो डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।
गीतमा राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ। सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा चर्चित डान्सर सविन कार्की बिस्ट, एलिसा शर्मा र रोशित कर्माचार्यलाई विशेष अतिथी भूमिकामा देख्न सकिन्छ।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। चलचित्र बैसाख २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
प्रकाशित समय : १२:५६ बजे



















