गृहपृष्ठ रियल म्याड्रिड बन्याे युथ लिगको च्याम्पियन
रियल म्याड्रिड बन्याे युथ लिगको च्याम्पियन
काठमाडाैं । रियल मड्रिडको ‘जुभेनिल ए’ टोलीले इतिहासमा दोस्रो पटक युइएफए युथ लिगको उपाधि जितेको छ।
लाउसेनस्थित स्टेड डे ला टुलिएरेमा खेलिएको रोमान्चक फाइनल खेलमा क्लब ब्रुगलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले उपाधि जित निकाल्न सफल भएकाे हाे । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ मड्रिडका गोलकिपर जाभी नाभारोले दुईवटा उत्कृष्ट बचाउ गर्दै टोलीलाई च्याम्पियन बनाए।
खेलको सुरुवातदेखि नै रियल मड्रिडले आक्रामक खेल पस्किएको थियो। खेलको २३औँ मिनेटमा फोर्चियाको उत्कृष्ट क्रसलाई जाकोबोले ब्याकहिलमार्फत गोलमा परिणत गर्दै मड्रिडलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा मड्रिडले गोल गर्ने अन्य धेरै अवसरहरू सिर्जना गरे पनि थप गोल हुन सकेन।
दोस्रो हाफमा क्लब ब्रुगले खेलमा सुधारिएको प्रदर्शन गर्यो। खेलको ६४औँ मिनेटमा कोरेनको पासमा टी. जेन्सेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। बराबरी पछि दुवै टोलीले निर्णायक गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेनन्।
निर्णायक पेनाल्टी सुटआउटमा जाभी नाभारो पुनः एक पटक नायक साबित भए। उनले विपक्षी टोलीका अमेन्गाई र कोरेनको प्रहारलाई रोक्दै मड्रिडको जित सुनिश्चित गरे। मड्रिडका लागि लिबेर्टो, यानेज, कार्लोस डिज र डिएगो अगुआडोले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
प्रकाशित समय : १२:५१ बजे



















