nmb bank

गृहपृष्ठ मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्याङ्कले देखाएको छ । यसले कृषि क्षेत्रमा दबाब बढाउने सङ्केत गरेको छ ।

भारतमा युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा स्रोत मानिन्छ । यही युरिया देशको विशाल कृषि प्रणालीका लागि मुख्य मल भएकाले यसको उत्पादन विश्वव्यापी ऊर्जा आपूर्ति र मूल्य उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ । तर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गर्दा ग्यास आपूर्ति प्रभावित भएको हो ।

यो जलमार्गबाट विश्वका करिब एक तिहाइ मल आपूर्ति हुने भएकाले अवरोधले विश्वव्यापी खाद्य उत्पादनमै असर पर्ने चिन्ता व्यक्त गरिएको छ । भारतजस्तो कृषिमा निर्भर मुलुकका लागि यसको प्रभाव अझ गम्भीर मानिएको छ । भारतमा कुल रोजगारीको ४५ प्रतिशतभन्दा बढी हिस्सा कृषिले ओगटेको छ । साना र कम उत्पादनशील खेती प्रणालीमा निर्भर किसानहरूका लागि मल अभाव थप चुनौती बन्न सक्छ ।

वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च २०२६ मा मल उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेको छ । यसअघि भने उत्पादनमा सुधारको क्रम देखिएको थियो—फेब्रुअरीमा ३.४ प्रतिशत, जनवरीमा ३.७ प्रतिशत र डिसेम्बर २०२५ मा ४.१ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारले भने तत्काल अभाव नहुने दाबी गरेको छ । पेट्रोलियम मन्त्रालयका अनुसार देशमा हाल ‘पर्याप्त मल भण्डार’ रहेको छ र आपूर्ति स्रोतहरूलाई विभिन्न देशहरूबाट विविधीकरण गर्ने प्रयास भइरहेको छ ।

भारतमा मलको माग मुख्यतः मनसुन बाली रोपाइँ (जुन–जुलाई) अघि र जाडो सिजनका बाली रोपाइँ (अक्टोबर–नोभेम्बर) बेला उच्च हुन्छ । यही समयलाई लक्षित गर्दै सरकारले यसअघि अप्रिलमा मल अनुदान ११ प्रतिशतले बढाएको थियो, जसले बढ्दो मूल्यबाट किसानलाई केही राहत दिने अपेक्षा गरिएको छ ।

तर भारतको मल प्रणाली आयातमा निर्भर रहँदै आएको छ । युरियासँगै रक फस्फेट, फस्फोरिक एसिड र पोटाशजस्ता कच्चा पदार्थका लागि पनि विदेशमै भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा आपूर्ति शृङ्खलामा आएको अवरोधले दीर्घकालीन असर पार्ने सम्भावना देखिएको छ ।

यसैबीच, विश्व व्यापार सङ्गठनले पनि मध्यपूर्व युद्धका कारण मल आपूर्तिमा आएको अवरोधले विश्व खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको छ । यसले भारत मात्र नभई विश्वभर कृषि उत्पादन र खाद्य उपलब्धतामाथि दबाब बढ्न सक्ने सङ्केत गरेको छ ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु