गृहपृष्ठ ईभी आयात घट्यो, पेट्रोल गाडीमा आकर्षण बढ्यो
ईभी आयात घट्यो, पेट्रोल गाडीमा आकर्षण बढ्यो
काठमाडौं– विद्युतीय सवारी साधन (ईभी) प्रति बढ्दो आकर्षण र सरकारी प्रोत्साहनका बाबजुद चालु आर्थिक वर्ष २०८२/८३ मा यसको आयातमा गिरावट आएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चैत मसान्तसम्म ईभी आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १० प्रतिशतले घटेको देखिएको हो।
गत आर्थिक वर्षको पहिलो नौ महिनामा ७ हजार ९६७ युनिट ईभी भित्रिएकोमा यस वर्ष सोही अवधिमा ७ हजार १७३ युनिटमा सीमित भएको छ। आयातको स्रोतमा चीन अग्रस्थानमा रहँदा भारत दोस्रो स्थानमा छ। ५० किलोवाटसम्मका साना क्षमताका ईभीमध्ये २ हजार ७८३ युनिट आयात हुँदा चीनबाट १ हजार ५४६ र भारतबाट १ हजार २३४ युनिट आएका छन् भने इन्डोनेसियाबाट नगण्य मात्रामा आयात भएको छ।
५१ देखि १०० किलोवाट क्षमताका सवारीमा चीनको प्रभुत्व झन् स्पष्ट देखिन्छ। यस वर्गमा चीनबाट ३ हजार ६२४ र भारतबाट ७८९ युनिट आयात भएका छन्। त्यस्तै १०१ देखि २०० किलोवाट क्षमताका उच्च श्रेणीका ईभीमा चीनबाट ७१० युनिट र जर्मनीबाट २६ युनिट भित्रिएका छन्।
समग्रमा समीक्षा अवधिमा १८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको ईभी आयात हुँदा सरकारलाई ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
व्यवसायीहरूका अनुसार आयात घट्नुको मुख्य कारण बजारमा थुप्रिएको ठूलो स्टक हो। चालु आर्थिक वर्षको सुरुवातमै कर बढ्ने आशंकाले आयातकर्ताहरूले आक्रामक रूपमा गाडी भित्र्याएका थिए, जसका कारण झन्डै ६ हजार युनिट सवारी एकैपटक बजारमा थपिएको थियो। त्यसपछि देखिएको ‘जेन–जी आन्दोलन’ र समग्र आर्थिक गतिविधिमा आएको सुस्तताले अटो बजारलाई प्रभावित बनायो। अटो शोमार्फत बुकिङ बढे पनि पछिल्लो अस्थिरताले धेरै ग्राहकले अर्डर रद्द गरेका कारण व्यवसायीहरू नयाँ आयातभन्दा मौज्दात बिक्रीमै केन्द्रित भएका छन्।
यसबीच पेट्रोल गाडीको आयात भने उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको नौ महिनामा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा २ हजार ७४२ युनिट मात्र पेट्रोल कार भित्रिएका थिए।
प्रकाशित समय : १४:२२ बजे



















