nmb bank

गृहपृष्ठ कोशी एक्सिलेन्स अवार्ड २०२६ : कृषितर्फ डिल्लीराज उप्रेती सम्मानित

कोशी एक्सिलेन्स अवार्ड २०२६ : कृषितर्फ डिल्लीराज उप्रेती सम्मानित

कोशी एक्सिलेन्स अवार्ड २०२६ : कृषितर्फ डिल्लीराज उप्रेती सम्मानित

इटहरी । नयन मिडिया फाउन्डेसनले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत कृषि विधातर्फको अवार्ड कृषक तथा उद्यमी डिल्लीराज उप्रेतीलाई प्रदान गरिएको छ ।

सुनसरीको इटहरीमा रहेको होटल सोल्टी वेस्टेन्डमा शनिवार आयोजित कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उप्रेतीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

केही वर्ष वि.सं. २०३९ वैशाख ६ गते ताप्लेजुङ जिल्लामा जन्मिएका उप्रेती वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै श्रम, सीप र संकल्पमार्फत आत्मनिर्भर कृषि उद्यम स्थापना गर्ने उदाहरणीय व्यक्तित्वका रूपमा परिचित छन् ।

कृषि क्षेत्रमा उप्रेतीले पुर्याएको योगदानको कदर गर्दै यस वर्षको कृषितर्फको कोशी एक्सिलेन्स अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत सम्मान गर्न योग्य व्यक्तित्वहरुलाई अवार्ड प्रदान गर्ने उद्धेश्यले गत वर्ष देखि कोशी एक्सिलेन्स अवार्ड वितरण गर्न थालिएको समेत बताए ।

कृषितर्फको अवार्ड प्राप्त गर्ने बुबा लक्ष्मीप्रसाद उप्रेती र आमा देवीमाया उप्रेतीका सुपुत्र डिल्लीराजले सामान्य कृषक परिवारबाट आफ्नो यात्रा सुरु गरेका हुन्। होटल म्यानेजमेन्ट विषयमा अध्ययनपछि वैदेशिक रोजगारीका लागि कतार पुगेका उप्रेतीले त्यहाँ आठ वर्ष काम गर्दै अनुभव संकलन गरेका थिए । त्यसपछि स्वदेश फर्केर झापा जिल्लाको मेचीनगर वडा नम्बर ९ मा ४६ हजार रुपैयाँ लगानीबाट कृषि व्यवसाय सुरु गरेका हुन् ।

प्रारम्भमा तरकारी तथा फलफूल खेतीबाट सुरु भएको उनको कृषि यात्रा क्रमशः पुष्प व्यवसायतर्फ विस्तार हुँदै आएको हो। हाल उनले सञ्चालनमा ल्याएको डी एण्ड डी बायो प्लान्ट टेक नर्सरी देशकै नमुना पुष्प नर्सरीका रूपमा स्थापित भइसकेको छ। नर्सरीमा करोडौं रुपैयाँ बराबरका फूलका बिरुवा उत्पादन हुने गरेका छन् भने वार्षिक कारोबार पाँच करोड रुपैयाँभन्दा बढी पुगेको बताइन्छ ।

उनका उत्पादनहरू काठमाडौंदेखि धनगढीसम्म नियमित आपूर्ति हुँदै आएका छन्। यस व्यवसायमार्फत एक दर्जनभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने सयौं किसान, ढुवानी व्यवसायी र विक्रेताहरू अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

टमाटर, कागती, खरबुजा र मेवा खेतीमा समेत सक्रिय उप्रेतीले वि.सं. २०७४ मा नेपाल सरकार वन विभागद्वारा प्रदान गरिएको ‘निजी वन राष्ट्रिय पुरस्कार’ तथा कृषि विकास बैंक लिमिटेडद्वारा प्रदान गरिएको ‘नवप्रवर्तक उद्यमी प्रोत्साहन पुरस्कार’ सहित विभिन्न सम्मान प्राप्त गरेका छन्।

उनको जीवन संघर्ष र सफलतामा आधारित कृतिहरूले समेत उनलाई प्रेरणादायी कृषकका रूपमा स्थापित गरेका छन्। स्वदेशमै सम्भावना खोज्दै उप्रेतीले कृषि उद्यममार्फत आत्मनिर्भरता र समृद्धिको सन्देश प्रवाह गर्दै आएका छन्।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु