गृहपृष्ठ स्मरणशक्ति कमजोर छ ? मुटु रोगको संकेत हुन सक्छ
स्मरणशक्ति कमजोर छ ? मुटु रोगको संकेत हुन सक्छ
एजेन्सी
काठमाडौँ । हिजोआजको व्यस्त र द्रुत गतिको जीवनशैलीमा थकान, तनाव, निद्राको कमी र बिर्सने बानीलाई धेरैले सामान्य समस्या ठान्ने गरेका छन्। कामको चाप, मोबाइल र डिजिटल उपकरणको अत्यधिक प्रयोग तथा मानसिक दबाबका कारण ध्यान नलाग्नु वा कुरा बिर्सनु स्वाभाविक जस्तै मानिन्छ ।
तर चिकित्सकहरूका अनुसार यस्ता लक्षणलाई सधैं हल्का रूपमा लिनु ठीक हुँदैन । कमजोर स्मरणशक्ति, ध्यान केन्द्रित गर्न नसक्नु र दिमाग भारी भएको अनुभूति कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको प्रारम्भिक संकेत हुन सक्छ, जसमा मुटु रोग पनि पर्दछ ।
विशेषज्ञहरू भन्छन्, मुटु रोग सधैं छाती दुख्ने, हात दुख्ने वा सास फेर्न गाह्रो हुने लक्षणबाट मात्र प्रकट हुँदैन, कतिपय अवस्थामा यसको प्रभाव सुरुमा मस्तिष्कमा देखिन सक्छ । यस्तो अवस्थालाई ‘ब्रेन फग’ भनिन्छ । ब्रेन फग भएको बेला व्यक्ति स्पष्ट सोच्न नसक्ने, स्मरणशक्ति कमजोर भएको, ध्यान छिट्टै भंग हुने र मानसिक रूपमा सुस्त भएको महसुस गर्छ । धेरै मानिसले यसलाई बुढ्यौली, तनाव वा सामान्य थकानको परिणाम भनेर बेवास्ता गर्ने गर्छन् ।
चिकित्सकहरूका अनुसार मुटु र मस्तिष्कबिच गहिरो र प्रत्यक्ष सम्बन्ध छ । मुटुले शरीरभरि रगत पम्प गर्छ र मस्तिष्कलाई अक्सिजन तथा पोषण आपूर्ति गर्ने मुख्य जिम्मेवारी पनि मुटुकै हो । जब मुटुले राम्ररी काम गर्न सक्दैन, मस्तिष्कमा पुग्ने रगतको मात्रा घट्न सक्छ । यसको परिणामस्वरूप स्मरणशक्ति, ध्यान क्षमता र सोच्ने शक्तिमा असर पर्छ ।
सन् २०२४ मा प्रकाशित मस्तिष्क रक्त प्रवाह र मेटाबोलिजमसम्बन्धी एक अन्तर्राष्ट्रिय जर्नलका अनुसार हृदयसम्बन्धी हलुका समस्याले समेत मस्तिष्कमा रगतको प्रवाह कम गर्न सक्छ । यसले लामो समयसम्म बेवास्ता गरिएमा स्मरणशक्ति कमजोर हुने, निर्णय क्षमता घट्ने र मानसिक कार्यक्षमतामा गिरावट आउने खतरा बढाउँछ ।
यदि तपाईं बारम्बार कुरा बिर्सनुहुन्छ, ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, मानसिक सुस्तता महसुस हुन्छ वा दिमागमा भारीपन अनुभव गर्नुहुन्छ भने यसलाई केवल मस्तिष्कको समस्या भनेर नजरअन्दाज नगर्नु नै बुद्धिमानी हुन्छ ।
चिकित्सकहरूको सुझावअनुसार यस्तो अवस्थामा मुटुको स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ । रक्तचाप, मुटुको धड्कन, मुटुको दर र रक्त प्रवाहजस्ता सूचकहरूको नियमित निगरानीले समस्या प्रारम्भिक चरणमै पत्ता लगाउन सकिन्छ ।
समयमै जाँच र उपचार गर्न सकिएमा मुटु रोगबाट मात्र होइन, त्यससँग जोडिएका मस्तिष्कसम्बन्धी जटिलताबाट पनि बच्न सकिन्छ । त्यसैले स्मरणशक्ति कमजोर हुनु वा ब्रेन फगको अनुभव हुनु शरीरले दिएको चेतावनी हुन सक्छ भन्ने कुरा गम्भीर रूपमा लिन चिकित्सकहरूले आग्रह गरेका छन् ।
प्रकाशित समय : ०९:०४ बजे


















