काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्याराफिट’ निर्माण

2.98K
shares

जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्याराफिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्याराफिट बनाउन लागिएको हो ।

चार तहको २० मिटर लामो प्याराफिट बनाउन १९ लाख ९३ हजारमा ठेक्का सम्झौता गरेको कस्तुरी कन्स्ट्रक्सनले ढलानको काम थालेको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए । कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न यसअघि उठाइएको पिल्लरमाथि प्याराफिट बनाउन चालु आवमा नगरपालिकाले २५ लाख र सङ्घीय सरकारले २० लाख बजेट विनियोजन गरेको थियो ।

सङ्घीय सरकारको योजनामार्फत थप करिब १५ मिटर प्याराफिट बनाउन उपभोक्ता समितिले सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा दुई वटा शीर्षकका आयोजनामार्फत करिब ३५ मिटर प्याराफिट तयार पार्ने लक्ष्यका साथ काम भइरहेको छ ।

“यसअघि ९७ मिटर भएको बेनी खुला मञ्चको खेलमैदानको लम्बाइ विस्तार गरेर १०० मिटर बनाएका छौँ”, वडाध्यक्ष श्रेष्ठले भने, “३८ मिटर चौडाइ भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्याराफिट बनाइसकिएको छ ।”

एघाररएघार जना फुटबल खेलाउन मिल्ने बनाउन गत वर्ष बेनी भगवती मन्दिरको पर्खाललाई तीन मिटर पछि सारेर खैलमैदानको लम्बाइ १०० मिटर बनाइएको थियो । खेलमैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले गत आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको थियो ।

सो बजेटबाट खेलमैदानमुनि कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सारिएको वडाध्यक्ष श्रेष्ठले बताए । मलामी घरको माथिल्लो भागमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गरेको छ ।

‘बेनी मिनि रङ्गशाला’ म्याग्दी जिल्लाको प्राथमिकता प्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो । यसअघि म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब १०० मिटर लामो प्याराफिट बनाइएको थियो ।

दर्शक बसेर खेल अवलोकन गर्ने प्याराफिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्याराफिट बनाउन विसं २०७४ मा नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको समूह खेलाउन सकिन्छ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ मा बजेटविहीन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन यसअघिका दुई आर्थिक वर्षमा बेनी नगरपालिकाले ५०/५० लाख बजेट व्यवस्थापन गरेको थियो ।