गृहपृष्ठ राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार
राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार

प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता यही जेठ १२ गते हुने भएको छ । सहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको उक्त प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।
प्रतियोगितामा कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाल आर्मी र नेपाल एपिएफ क्लब गरी सात टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिता विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई सात हजार नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै खेलाडीहरूको एक लाख २५ हजार बराबरको खेल दुर्घटना बिमा गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख खर्च हुने बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
प्रकाशित समय : २०:१८ बजे