युनिलिभर नेपालले गर्यो हालसम्मकै धेरै लाभांश घोषणा
वि.सं.२०८० असोज २९ सोमवार ११:४८
shares

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले हालसम्मकै धेरै लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५८० प्रतिशत बम्पर लाभांश दिने जनाएको हो।
गत शुक्रबार बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो। जुन कम्पनीको १२ वर्षको ट्रयाक रेकर्डमा सबैभन्दा धेरै हो। पोहोर कम्पनीले १२१५ रुपैयाँ प्रति कित्ताका दरले बाँडेको थियो।
मन्दीले अन्य उद्योग प्रभावित भएपनि कम्पनीको कारोबार र नाफा दुवैमा वृद्धि थियो। गत आर्थिक वर्ष मात्रै ८ अर्ब ४८ करोडको ब्यापार गरेको छ। जुन अघिल्लो वर्षको भन्दा १५.६ प्रतिशत बढेको थियो।
त्यसैगरी नाफा १८ प्रतिशत बढेर एक अर्ब ८३ करोड रुपैयाँ पुगेको थियो। नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये युनिलिभर सबैभन्दा महँगो सेयर हो। कम्पनीको सेयर प्रतिकित्ता ३५ हजार ९०० रुपैयाँका दरले किनबेच भइरहेको छ।

























