सुन प्रकरणमा प्रहरीले अनुसन्धान गर्ने
वि.सं.२०८० साउन ८ सोमवार १७:०२
shares

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठूलो परिमाणमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो ।
हङकङबाट कार्गे गरी ल्याइएको अटोपार्ट्समा सुन ल्याएको फेला परेको थियो । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पनि मिसिएको छ ।
प्रहरीलाई सुरुमा यो प्रकरणको अनुसन्धानमा सहभागी नगराएको राजस्व अनुसन्धान विभागले अहिले प्रहरीको सहयोग मागेको हो । प्रहरीले एसपी कृष्ण पंगेनीलाई यसमा खटाएको छ । एसपी पंगेनी प्रहरीको मानव बेचबिखन ब्युरोमा कार्यरत थिए ।
राजस्वले सुन बरामदम अप्रेसनमा प्रहरीको सहयोग लिएको थिएन । त्रिदेशीय संगठित तस्करीको जालो देखिएको यो प्रकरणमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारी र एजेन्ट, भारतीय नागरिक र चिनियाँ नागरिक गरी हालसम्म १६ जनालाई पक्राउ गरेको छ ।
सुन प्रकरणमा भारत चीन र नेपाल जोडिएकाले अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने देखिएको थियो ।

























