एक दशकमा ८ क्विन्टल अवैध सुन बरामद हुँदा ७२२ भरिया पक्राउ
वि.सं.२०८० साउन ८ सोमवार १७:०९
shares

पछिल्लो एक दशकमा ८ क्विन्टलभन्दा बढी अवैध सुन बरामद भएको छ । आर्थिक वर्ष २०७१र७२ यता ८०९ केजी सुन बरामद भएको राजश्व विभागको तथ्यांकमा छ ।
पछिल्लोपटक गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपाससमेत गरेर बाहिरिएको एक क्विन्टल सुन ट्याक्सीमा हालेर लैजान लाग्दा बरामद भयो । उक्त प्रकरणमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा भरिया, ट्याक्सी चालक र अधिकृतभन्दा तल्लो तहका कर्मचारी छन् ।
एक दशकको अवधिमा सुन तस्करीको आरोपमा ७२२ जना पक्राउ परेको केन्द्रीय प्रहरी कार्यालय जनाएको छ । पक्राउ पर्नेहरू अधिकांश भरिया र केही कर्मचारी भएको प्रहरीले जनाएको छ । पाँच वर्ष ‘गोरे’बाहेक कुनै पनि सुन तस्करीका नाइकेलाई पक्रिन नसकेको प्रहरीले स्वीकारेको छ ।
प्रहरीका अनुसार ४९७ जना विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाटै सबैभन्दा सुन तस्करीमा संलग्नलाई पक्राउ गरेको तथ्यांक छ ।
अझ पछिल्लो समय विमानस्थल भन्सारबाट पास भइसकेको सुन सडकबाट बरामद हुनुले घटनालाई थप रहस्यमयी बनाएको छ । सुन तस्करीमा राजनीतिक नेतृत्वसँगै उच्च पदस्थहरू संलग्न भएको शंकालाई मलजल गरेको छ ।
यसरी प्रहरीले पक्राउ गरेका भरिया वा अरु संलग्न व्यक्तिबाट तस्करी गिरोहका नाइके पत्ता लाग्न नसक्नुलाई धेरैले रहस्यको विषय मान्दै आएका छन् ।

























