गृहपृष्ठ अख्तियारले सेना र सीसीटीभी जोडेर पशुपतिमा जलहरीको नाप्दैँ
अख्तियारले सेना र सीसीटीभी जोडेर पशुपतिमा जलहरीको नाप्दैँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथको ज्योतिर्लिंगमा राखिएको जलहरीमा प्रयोग भएको सुनको नाप जाँच सुरु गरेको छ ।
अख्तियारको टोलीले ४ बजेदेखि जलहरीमा प्रयोग भएको सुनको सत्यतथ्य जाँच्न जाने भएपछि मन्दिर क्षेत्र खाली गराइ काम सुरु गरेको हो । निर्धारितभन्दा कम तौलको सुन राखेर जलहरी बनाइएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
नेपाली सेनाको २४ घण्टे पहरामा बनाइएको जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तितयारको अनुसन्धान टोली केहीबेरअघि पशुपतिनाथ पुगेको हो । त्यस क्षेत्रमा नेपाली सेनालगायत सुरक्षाकर्मीहरुले दिउँसैदेखि सुरक्षा प्रदान गरिरहेका थिए ।
जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गर्न लागेको हो । मन्दिर परिसरमा पुगेको अख्तियारको टोलीले सीसी क्यामेरा जडान गरेर नाप्ने भएको छ ।
जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।
सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ गा्रम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।
महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको महालेखाको आशंका छ ।
प्रकाशित समय : १६:५१ बजे


















