गृहपृष्ठ नेपाल टेलिकमद्वारा विपद् उद्धार कोषमा १० करोड सहयोग
नेपाल टेलिकमद्वारा विपद् उद्धार कोषमा १० करोड सहयोग
काठमाडौं । नेपाल टेलिकमले रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।
बिहीबार आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले १० करोड रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी पनि सहभागी थिए ।
यसअघि नेपाल टेलिकमका कर्मचारीका तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ ।
बाढीपछि टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सेवा उपलब्ध गराएको थियो । कम्पनीका अनुसार पछिल्लो सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनःस्थापना कार्यमा योगदान पुग्नेछ ।
नेपाल टेलिकमले बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा समेत आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
विपद्का समयमा सञ्चार सेवा निरन्तर सञ्चालन गर्न तथा राहत, उद्धार र पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।
प्रकाशित समय : १९:२७ बजे


















