गृहपृष्ठ कामना सेवा विकास बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कामना सेवा विकास बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको कुलेश्वरस्थित श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ ।
बैंकको कुलेश्वर शाखामार्फत आयोजित कार्यक्रममा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले बैंकले स्टेशनरी तथा अन्य शैक्षिक सामग्री, स्कुल ब्याग, स्कुल ड्रेस तथा हाउस ड्रेस, जुत्तालगायत आवश्यक सामग्री वितरण गरेको जनाएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले विपन्न तथा गरिब विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गरे । यस्ता सहयोगले विद्यार्थीलाई अध्ययनप्रति थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
कार्यक्रममा बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित विद्यार्थीलाई गरिएको सहयोगले उनीहरूको पठनपाठनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रकाशित समय : १९:०२ बजे


















