गृहपृष्ठ प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख मलेसियन रिङ्गिट बराबरका ड्रोन सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन कम्पनीले नेपाल सरकारलाई ड्रोन उपलब्ध गराएको हो ।
प्रोटोनका अनुसार विपद्का समयमा प्रभावित क्षेत्रको अवस्थाबारे तत्काल जानकारी लिन, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सडकमार्गबाट पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुनेछ ।
मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (NADMA) को व्यवस्थापन तथा समन्वयमा ड्रोन नेपाल ल्याइएको हो । सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम (SMART) को मुख्यालयमा ड्रोन नाडमालाई हस्तान्तरण गरिएको थियो । नेपालमा मानवीय सहायता तथा विपद् उद्धार अभियानमा खटिएको SMART टोलीमार्फत ड्रोन नेपाल ल्याउने व्यवस्था गरिएको हो ।
कम्पनीका अनुसार नेपाल सरकारलाई उपलब्ध गराइएका यी ड्रोन नेपाल सरकारकै स्वामित्वमा रहनेछन् । नेपालमा प्रयोग गर्नुअघि SMART टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिमसमेत दिनेछ ।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ तथा NADMA का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति थियो । कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधि चु ह्वाई जेङ र इन्चिक जुलइज्बान हम्जाको पनि सहभागिता थियो ।
कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का समयमा प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे जानकारी लिन ड्रोनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार तत्कालीन मानवीय सहयोगसँगै यसले नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत प्रोटोनका गाडी बिक्री हुँदै आएका छन् । नेपालमा प्रोटोन ब्रान्डको लोकप्रियता बढ्दै गएको कम्पनीको दाबी छ ।
प्रोटोनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा नेपाली नागरिकसँग ऐक्यबद्धता जनाउँदै स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रोटोनको नेपालस्थित साझेदार जगदम्बा मोटर्सले यसअघि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद सहयोग गरेको थियो । कम्पनीले अन्य जिन्सी सहयोगसमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।
प्रोटोन र जगदम्बा मोटर्सको सहकार्यले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिने तथा राष्ट्रिय राहत, उद्धार र पुनःउत्थानमा योगदान गर्ने प्रतिबद्धता देखाएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १९:३२ बजे


















