गृहपृष्ठ भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग
भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग
धनुषा । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले ४१ लाख सहयोग गरेको छ ।
नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्को घडीमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग सङ्कलन गरिएको नगर प्रमुख महेन्द्र महतोले जानकारी दिए ।
नगरपालिकाका अनुसार नगर प्रमुखबाट रु ५१ हजार १५१, नगर उपप्रमुखबाट रु १२ हजार तथा जनप्रतिनिधिबाट रु तीन लाख ३३ हजार १६५ सहयोग गरिएको छ ।
त्यस्तै स्थानीय तह विपद् व्यवस्थापन कोषबाट ११ लाख उपलब्ध गराइएको छ ।
जनकपुरधाममा उठ्यो १५ लाख ५५ हजार
यसैगरी, बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि जनकपुरधामबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम बढेको छ । विभिन्न व्यवसायी, सङ्घसंस्था, शैक्षिक संस्था तथा स्थानीय समुदायले १५ लाख ५५ हजार ७३२ आर्थिक सहयोग गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले बाढीपीडितका लागि रु आठ लाख ५१ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी, नेपाल औषधि व्यवसायी सङ्घ धनुषाले रु चार लाख १११, जनकपुरधाम–६ का मस्जिद तथा मदर्सा कमिटीका पदाधिकारी, सदस्य तथा मुस्लिम युवाले एक लाख ९३ हजार ५१० र जानकी बोर्डिङ स्कुलले रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।
जनकपुरधाममा प्रभावित परिवारका लागि ठूलो परिमाणमा जुत्ता–चप्पल, लत्ताकपडा, खाद्यान्न, सरसफाइका सामग्री तथा भान्साका सामान सङ्कलन भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका सचिव निरजविक्रम साहका अनुसार विभिन्न व्यवसायी तथा सङ्घसंस्थाले उपलब्ध गराएको सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घको एक लाख ५६ हजार सहयोग
दमौली तनहुँ उद्योग वाणिज्य सङ्घले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक लाख ५६ हजार १५६ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पविन्द्रकुमार श्रेष्ठमार्फत उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष इमकुमार मल्लले जानकारी दिए ।
कचनकवल गाउँपालिकाद्वारा २९ लाख सहयोग
झापाः झापाको कचनकवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीका तर्फबाट सो रकम एकमुष्ट रूपमा कोषमा दाखिला गर्न लागिएको हो ।
विपद् व्यवस्थापन कोषबाट एक लाख, जनप्रतिनिधिका तर्फबाट रु ७१ हजार, गाउँपालिका कर्मचारीका तर्फबाट नौ लाख २२ हजार ५२४ र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको १८ लाख १२ हजार ५६७ गरी कुल २९ लाख छ हजार एक सय उपलब्ध गराउने निर्णय भएको छ ।
हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग
हेटौँडाः मकवानपुरको हेटौँडाका पाँच शैक्षिक संस्थाले रु ३२ लाख पाँच हजार सहयोग गरेका छन् ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टले २० लाख, नवोदय शिशु सदनले छ लाख ५० हजार, नारायणी कलेजले दुई लाख, सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीले दुई लाख र तुलसीमेहर मेमोरियल स्कुलले एक लाख ५५ हजार सहयोग गरेका हुन् ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टका तर्फबाट १५ लाख र त्यहाँका प्राध्यापक तथा कर्मचारीका तर्फबाट पाँच लाख गरी २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । नवोदय शिशु सदनका तर्फबाट पाँच लाख तथा शिक्षक र कर्मचारीका तर्फबाट एक लाख ५० हजार गरी छ लाख ५० हजार उक्त कोषमा जम्मा गरिएको हो ।
प्रकाशित समय : ०६:१३ बजे


















