गृहपृष्ठ यस्तो छ शेयर भर्दा ध्यान दिनुपर्ने कुरा
यस्तो छ शेयर भर्दा ध्यान दिनुपर्ने कुरा
प्राथमिक शेयर निष्कासनमा सिआस्वा प्रणाली अनिवार्य भएको छ । यसको मतलब अब प्राथमिक शेयर निष्कासन, आइपिओ, एफपिओ र हकप्रद शेयर खरिदका लागि आवेदन दिँदा सिआस्वा प्रणालीको प्रयोग गर्नुपर्ने हुन्छ ।
अहिले आस्वा सेवा प्रदान गर्दै आइरहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणालीमा आबद्ध गरी एउटै सफ्टवेयरबाट आवेदन लिने व्यवस्था सिआस्वामा हुन्छ । सिआस्वाले शेयर लगानीकर्ताहरूलाई निकै सहज बनाएको छ ।
सिआस्वाले दिएका शेयर सुविधाहरू
सिआस्वा प्रणालीको प्रयोगबाट घरमै बसी इन्टरनेटको प्रयोगबाट शेयर खरिदका लागि आवेदन दिन सकिन्छ । अहिले अधिकांश बैंकहरूले आफ्नो वेभसाइटमार्फत शेयरमा आवेदन दिने व्यवस्था गरेका छन् ।
सिआस्वा प्रणालीका कारण शेयर लगानीकर्ताको समय बचत भएको छ । पहिले शेयर बिक्री प्रबन्धक वा तोकिएका बैंकहरूमा गएर लाइन बसेर आवेदन दिनुपर्दा लगानीकर्ताको धेरै समय खेर जाने गरेको थियो ।
कागजातहरू हराउला, च्यातिएला भन्ने जोखिम अहिले छैन । डिम्याट खातामार्फत् कारोबार हुने हुँदा शेयर आफ्नै खातामा आएर बस्ने सुविधा यो प्रणालीमा हुन्छ ।
त्यस्तै, शेयर आवेदन गर्दैमा खाताको रकम नकाटिने र शेयर बाँडफाँट भइसकेपछि मात्र खाताको पैसा काटिने भएकोले शेयर नपरेको रकम आफ्नै बैंक खातामा फिर्ता आउने सुविधा यो प्रणालीमा हुन्छ ।
हातमा पैसा बोकेर शेयर आवेदन गर्न जानुपर्ने अवस्था अब छैन । बैंक खातामा भएको पैसा सिधै शेयरमा लगानी गर्न सक्ने सुविधा सिआस्वा प्रणालीमा रहेको छ ।
शेयरमा लगानी गर्ने मात्रै नभएर शेयरको मौज्दात र पोर्टफोलियो हेर्न, शेयर धितो बन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको शेयर पर्यो कि परेन हेर्न मिल्ने सुविधा सिआस्वा प्रणालीमा हुन्छ ।
सिआस्वा प्रणालीका कारण शेयर बाँडफाँट प्रक्रिया समेत सरल र छिटो भएको छ । सिआस्वामार्फत गरिएका आवेदनहरू संकलन गर्न सहज भएकाले छोटो समयमा नै शेयर बाँडफाँट गर्न सम्भव भइरहेको छ ।
कसरी लिने सिआस्वा सेवा ?
यो प्रणालीबाट शेयर आवेदन दिन लगानीकर्ताले आफ्नो सिआस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिन आवेदन दिनु पर्दछ ।
त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेयरमा भेरिफिकेशन गरी लगानीकर्तालाई एउटा भेरिफिकेशन कोडको रूपमा सिआरएन अर्थात सिआस्वा रजिष्ट्रेसन नम्बर दिन्छ ।
त्यसपछि तपाईंले आफ्नो डिम्याट खाता पनि रुजु गराउनुपर्ने हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेबसाइटमा गएर आवेदन गर्न सक्दछन् ।
अथवा, सिआस्वा सेवा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाको वेबसाइटमार्फत् पनि शेयर आवेदन दिन सकिन्छ । आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौज्दात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ ।
यस्तो सेवा लिन बैंकको वेबसाइटमा गएर आस्वा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लग इन गरेपछि मात्र सिआस्वा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नुपर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लगइन गरी शेयर आवेदनका लागि माग गरिएको निर्देशन पूरा गर्नुपर्ने हुन्छ ।
अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरी अनलाइन बैंकिङको सेवा माग गर्न सक्दछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिङ सुविधा लिएर यो प्रणालीबाट घरमा बसेर शेयर आवेदन गर्न सक्दछन् ।
आस्वामा अनलाइनबाट शेयर आवेदन गरेपछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।
शुल्क कति लाग्छ ?
आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट वार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ ।
यो शुल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो शेयरको मौज्दात र पोर्टफोलियो हेर्न, शेयर धितो बन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको शेयर पर्यो कि परेन हेर्न मिल्ने सेवाका लागि लिइन्छ ।
अहिले निःशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत् सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।
(स्रोत राष्ट्र बैंक)
प्रकाशित समय : ०७:१५ बजे



















