गृहपृष्ठ चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त भयो : महावीर पुन
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त भयो : महावीर पुन
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले चीन सरकारबाट नेपालले ६ वटा सैन्य कार्गो विमानमार्फत बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री प्राप्त गरेको बताएका छन् ।
चिनियाँ सहयोगबारे जानकारी दिँदै मन्त्री पुनले ती विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट, पीसीआर, बडी फ्रिजर, टेन्ट तथा भाँडाकुँडालगायत विभिन्न सामग्री प्राप्त भएको बताए ।
उनले चीनबाट अनुदानस्वरूप २ लाख अमेरिकी डलर नगद तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिए । रेडक्रसमार्फत २ लाख डलर बराबरको सामग्रीसमेत प्राप्त भएको उनले बताए ।
पुनले विपद् व्यवस्थापनका लागि चीनबाट ६ जना विपद् राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ प्राप्त भएको बताए । फोरेन्सिक विज्ञहरू अहिले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा काम गरिरहेको उनले जानकारी दिए ।
उनले कठिन तथा जोखिमपूर्ण परिस्थितिमा त्रिशूली क्षेत्रमा उद्धार टोलीलाई सहयोग गरेको चिनियाँ विज्ञ टोलीलाई धन्यवाद दिए ।
मन्त्री पुनले चिनियाँ सरकारबाट प्राप्त एआई तथा स्याटेलाइट डाटाले विपद् प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्न सहयोग पुगेको बताए । उनले ‘माजु प्रणाली’मार्फत प्राप्त हुने रियल टाइम डाटाको प्रयोग र नेपाल–चीनबीचको डाटा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
मन्त्री पुनले प्रभावित क्षेत्रका नागरिकलाई सहयोग पु¥याउन चीन सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै चिनियाँ सरकार र विज्ञ टोलीको सहयोगप्रति आफू हृदयदेखि कृतज्ञ रहेको बताए।
प्रकाशित समय : १९:३३ बजे


















