नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर दिने
वि.सं.२०८३ भदौ २९ सोमवार १४:२२
shares

काठमाडौं — नेपाल ल्युब आयल लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५६४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले असोज १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले यसपटक दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ करोड ७४ लाख ३८ हजार २ सय ४० रुपैयाँ अर्थात् ८ लाख ७४ हजार ३ सय ५२ कित्ता सेयर रहेको छ । सोही चुक्ता पुँजीका आधारमा १५ प्रतिशत बोनस सेयर दिँदा १ लाख ३१ हजार १५२ कित्ता बोनस सेयर थपिनेछ ।
यसैबीच, कम्पनीले २०८१ चैतमा १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको थियो । त्यतिबेला १४ लाख ५७ हजार २५३ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको थियो ।
अब बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट हकप्रद सेयर निष्कासन गरिने भएकाले हकप्रदको संख्या घटेर करिब १३ लाख २६ हजार १२८ कित्ता कायम हुने देखिएको छ । यसअनुसार प्रस्तावित हकप्रद अनुपात १ बराबर २ बाट घटेर करिब १ बराबर १.३२ हुने देखिन्छ ।
























