गृहपृष्ठ राष्ट्रसङ्घद्वारा अब्बासलाई भिडियोमार्फत आम बहसमा सहभागी हुन अनुमति
राष्ट्रसङ्घद्वारा अब्बासलाई भिडियोमार्फत आम बहसमा सहभागी हुन अनुमति
संयुक्त राष्ट्रसङ्घीये महासभाले बिहीबार एक प्रस्ताव पारित गर्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई यस वर्षको आम बहसमा भिडियोमार्फत सहभागी हुन अनुमति दिएको छ । अमेरिकाले उनलाई प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार गरेपछि यो निर्णय लिइएको जनाइएको छ ।
सभामा १५२ मत पक्षमा, ३ मत विपक्षमा र ४ मत तटस्थ रहँदै पारित भएको यस प्रस्तावअनुसार, प्यालेस्टाइनले अब्बासको पूर्व–रेकर्ड गरिएको मन्तव्य पेस गर्न सक्नेछ । भौतिक रूपमा उपस्थित प्यालेस्टिनी प्रतिनिधिले परिचय गराए पछि महासभाको हलमा हुने आम बहसका क्रममा उक्त मन्तव्य प्रसारण गरिनेछ ।
यस प्रस्तावले प्यालेस्टाइनसम्बन्धी विषयको शान्तिपूर्ण समाधान र दुई–राज्य बीचको मतभेदको समाधानको कार्यान्वयनका लागि आयोजना गरिने उच्च–स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनका बैठकहरूमा पनि प्यालेस्टाइनलाई भिडियो–कन्फरेन्स वा पूर्व–रेकर्ड गरिएको मन्तव्यमार्फत सम्बोधन गर्ने अनुमति दिएको छ ।
यदि प्यालेस्टाइनका प्रतिनिधिहरू राष्ट्रसङ्घका बैठकहरूमा प्रत्यक्ष सहभागी हुनबाट वञ्चित भएमा, यस प्रस्तावले प्यालेस्टाइनलाई आफ्ना राष्ट्रपति वा अन्य कुनै उच्च–स्तरीय प्रतिनिधिको पूर्व–रेकर्ड गरिएको मन्तव्य पेस गर्न अनुमति दिन्छ । यस्तो सुविधा राष्ट्रसङ्घका उच्च–स्तरीय बैठक वा सम्मेलनका साथै महासभा वा राष्ट्रसङ्घका अन्य निकायहरूको तत्वावधानमा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा पनि लागू हुने गर्छ ।
अमेरिकाले बुधबार अब्बाससहितका प्यालेस्टिनी अधिकारीहरूमाथि भिसा प्रतिबन्धलाई निरन्तरता दिएका कारण अब्बास लगातार दोस्रो वर्ष पनि राष्ट्रसङ्घीय महासभाको उच्च–स्तरीय बैठकको सातामा प्रत्यक्ष रूपमा सहभागी हुन नपाउनु भएको हो ।
प्रकाशित समय : १८:०६ बजे


















