पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी र रोजगारी दिएका क्यासिनोहरू बन्द हुँदैछन् । नीतिगत अस्थिरता, बढ्दो प्रतिस्पर्धा र अनुभवी अपरेटरको अभावले व्यवसाय संकटमा परेको क्यासिनो क्षेत्रका जानकार अजय विक्रम थापा बताउँछन् । लामो समयदेखि नेपाल र भारतको क्यासिनो क्षेत्रमा काम गरेका थापाका अनुसार स्थिर नीति, सुरक्षित लगानी र विदेशी ग्राहक लक्षित रणनीति बनाउन सके क्यासिनो पर्यटनबाट रोजगारी, विदेशी मुद्रा आर्जन र राजस्व बढाउन सकिन्छ । प्रस्तुत छ, नेपालको क्यासिनो व्यवसायको अवस्था, चुनौती र सम्भावनाबारे मल्ल र र्‍याडिसन क्यासिनोको पूर्वप्रमुख कार्यकारी अधिकृत(सीइओ) भइसकेकाथापासँग  गरेको कुराकानीको सम्पादित अंश..

नेपालमा अहिले क्यासिनो व्यवसायको अवस्था कस्तो देख्नुहुन्छ ?

अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ । यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ । त्यसका लागि क्यासिनो व्यवसायबारे लामो समयदेखि काम गरेका विशेषज्ञसँग सरकारले समन्वय गर्न आवश्यक छ ।

नेपालमा क्यासिनोसम्बन्धी नियमावली पटक–पटक परिवर्तन भएका छन् । कहिले नयाँ नियमावली बनाउने, कहिले पुरानो हटाउने र फेरि अर्को व्यवस्था ल्याउने प्रवृत्तिले लगानीकर्ताको विश्वासमा असर गरेको छ । क्यासिनो सञ्चालनका लागि ठूलो लगानी आवश्यक हुन्छ । एउटा राम्रो क्यासिनो खोल्न डेढ अर्ब रुपैयाँसम्म लगानी लाग्न सक्छ । यस्तो अवस्थामा लगानीकर्ताले दीर्घकालीन नीति र स्थिर वातावरण खोज्छ ।

त्यसैले राज्यले दीर्घकालीन सोचका साथ स्पष्ट र स्थिर नियम बनाउनुपर्छ । नियम बनाउँदा क्यासिनो व्यवसायमा लामो अनुभव भएका व्यक्तिहरूसँग पनि छलफल गर्नुपर्छ ।

क्यासिनोको संख्या बढिरहेको तर ठूला क्यासिनोहरू बन्द भइरहेको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

अहिले नेपालका एउटै शहरमा सात–आठवटासम्म क्यासिनो खुलेका उदाहरण छन् । ती कुन आधारमा खुले, कसरी खुले भन्ने विषयमा पनि अध्ययन हुनुपर्छ । अर्कोतर्फ, पहिले ठूला लगानी र ठूलो रोजगारी सिर्जना गरेका क्यासिनोहरू बन्द भइरहेका छन् । काठमाडौंका केही चर्चित क्यासिनोहरू बन्द छन् । तीमध्ये एभरेस्ट, अन्नपूर्ण, र्‍याडिसन, सांग्रिला लगायतका क्यासिनोहरू पनि पर्छन् ।

एउटा क्यासिनोमा एक हजारदेखि १५०० जनासम्मले रोजगारी पाउने अवस्था थियो । हाउसकिपिङदेखि जनरल म्यानेजरसम्म विभिन्न तहका कर्मचारीले काम गर्थे । त्यस्ता व्यवसाय बन्द हुँदा लगानी मात्र होइन, रोजगारी पनि प्रभावित हुन्छ । त्यसैले कुन कारणले ती क्यासिनो बन्द भए, लगानीकर्ता किन बाहिरिए र रोजगारी कहाँ गयो भन्ने विषयमा राज्यले अध्ययन गर्नुपर्छ ।

तपाईंले नेपालमा क्यासिनो व्यवसायको पुरानो समय पनि देख्नुभएको छ । त्यो समय र अहिलेको अवस्थाबीच के फरक पाउनुहुन्छ ?

नेपालमा क्यासिनो व्यवसाय सुरु भएको प्रारम्भिक समय निकै फरक थियो । सोल्टी होटलमा क्यासिनो सञ्चालन भएको समयदेखि नै नेपालमा क्यासिनो पर्यटनको सम्भावना देखिएको थियो । त्यसबेला विदेशी पर्यटक, विशेषगरी दक्षिण एसियाका विभिन्न मुलुकबाट आउने ग्राहक क्यासिनोमा आकर्षित हुन्थे ।

मैंले पनि करिब १९ वर्षको उमेरमा क्यासिनो क्षेत्रमा काम सुरु गरेको हुँ । त्यसबेला क्यासिनोमा काम गर्दा ग्राहकको ठूलो चाप हुन्थ्यो । त्यतिबेला भारतमा क्यासिनोको पहुँच सीमित थियो । नेपालमा आउने विदेशी ग्राहकका लागि क्यासिनो एउटा प्रमुख आकर्षण थियो । त्यो समयको क्यासिनो व्यवसायमा सेवा, आतिथ्यता र व्यावसायिक व्यवस्थापनलाई निकै महत्त्व दिइन्थ्यो । अहिले त्यो वातावरणमा परिवर्तन आएको छ ।

भारतमा क्यासिनो विस्तार हुनुको असर नेपालमा परेको हो ?

मेरो बुझाइमा त्यसको असर परेको छ । पहिले भारतमा क्यासिनोको विकल्प सीमित हुँदा भारतीय ग्राहक नेपाल आउँथे । पछि भारतका गोवा र सिक्किमलगायत स्थानमा क्यासिनो सञ्चालन हुन थालेपछि नेपाली क्यासिनोले भारतीय ग्राहकमा मात्र निर्भर भएर चल्न सक्ने अवस्था रहेन ।

तर यसको अर्थ नेपालमा सम्भावना सकियो भन्ने होइन । नेपालले आफ्नो नीति, सेवा र अपरेसनलाई सुधार गरेर नयाँ बजार विकास गर्न सक्छ । त्यसका लागि अनुभवी अपरेटर र दीर्घकालीन सोच आवश्यक हुन्छ ।

तपाईंले क्यासिनो व्यवसायमा ‘एक्सपर्टिज’को अभाव भएको बताउँदै आउनुभएको छ । यसको अर्थ के हो ?

क्यासिनो सञ्चालन सामान्य व्यवसाय सञ्चालन गरेजस्तो होइन । यसमा छुट्टै विशेषज्ञता चाहिन्छ । उदाहरणका लागि, निर्माण व्यवसायीलाई भवन कसरी बनाउने भन्ने ज्ञान हुन्छ । कुन ठाउँमा कस्तो पिलर राख्ने, सिमेन्ट र बालुवाको अनुपात कस्तो हुने भन्ने उसलाई थाहा हुन्छ । तर त्यही व्यक्ति क्यासिनो व्यवसायमा आयो भने क्यासिनो कसरी सञ्चालन गर्ने, कस्तो ग्राहक लक्षित गर्ने, कस्तो लगानीकर्ता ल्याउने, सरकारसँग कसरी समन्वय गर्ने भन्ने कुरा उसलाई थाहा नहुन सक्छ ।

नेपालमा यही समस्या देखिएको छ । क्यासिनोको विशेषज्ञतालाई पर्याप्त रूपमा प्रयोग गरिएन । गैर–क्यासिनो क्षेत्रबाट आएका लगानीकर्ता र सञ्चालकले पनि क्यासिनोमा प्रवेश गरे । त्यसले व्यवसाय सञ्चालनमा उतारचढाव ल्याएको मेरो बुझाइ छ । क्यासिनोको आफ्नै अपरेसन, ग्राहक व्यवस्थापन, अन्तर्राष्ट्रिय बजार, वित्तीय अनुशासन र जोखिम व्यवस्थापन हुन्छ । त्यसलाई बुझ्ने मानिसलाई निर्णय प्रक्रियामा राख्नुपर्छ ।

क्यासिनो क्षेत्र अस्थिर हुनुको मुख्य कारण तपाईंले के देख्नुहुन्छ ?

पहिलो कारण स्थिर नियमको अभाव हो । दोस्रो, अनुभवी अपरेटरको अभाव हो । तेस्रो, क्यासिनो विशेषज्ञतालाई निर्णय प्रक्रियामा पर्याप्त रूपमा समेटिन नसक्नु हो । कहिले क्यासिनो बन्द हुने, फेरि खोलिने, नियम परिवर्तन हुने अवस्था आयो । यसले लगानीकर्तालाई दीर्घकालीन योजना बनाउन कठिन बनाउँछ । करोडौं वा अर्बौं रुपैयाँ लगानी गर्ने व्यक्तिले आज बनाएको नियम भोलि परिवर्तन हुन्छ कि हुँदैन भन्ने निश्चितता खोज्छ ।

त्यसैले राज्यले एउटा स्थिर प्रणाली बनाउनुपर्छ । क्यासिनो व्यवसायलाई कुन स्तरको होटलमा, कुन मापदण्डमा र कस्तो लगानीका आधारमा सञ्चालन गर्न दिने भन्ने स्पष्ट हुनुपर्छ ।

नेपालीलाई क्यासिनो प्रवेशमा लगाइएको प्रतिबन्धबारे तपाईंको धारणा के छ ?

यो विषयमा सकारात्मक र नकारात्मक दुवै पक्षबाट बहस गर्नुपर्छ । क्यासिनोमा विकृति हुनसक्छ भन्ने कुरा म अस्वीकार गर्दिनँ । जुवा वा सट्टेबाजीसँग जोडिएका कारण यसको सामाजिक पक्ष पनि छ । तर नेपालीलाई रोक्दा नेपाली ग्राहक विदेशमा गएर खेल्ने अवस्था पनि छ । कोही गोवा जान्छन, कोही सिक्किम, कोही मकाउ जान्छन । त्यसरी नेपालीले खर्च गरेको पैसा विदेश जान्छ । त्यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा राज्यले बहस गर्नुपर्छ ।

यदि राज्यले प्रवेश खुला गर्ने निर्णय गर्छ भने त्यसबाट कर कसरी उठाउने, कति रकमको कारोबारलाई कसरी नियमन गर्ने भन्ने स्पष्ट प्रणाली चाहिन्छ । प्रवेश नदिने हो भने त्यसको सामाजिक र आर्थिक प्रभावबारे पनि अध्ययन गर्नुपर्छ ।

तपाईंले विदेशी ग्राहकले नेपालमा पैसा ल्याउने प्रणालीबारे पनि प्रश्न उठाउनुभएको छ । यसबारेमा तपाईकाे धारणा के छ ?

यो अत्यन्त महत्त्वपूर्ण विषय हो । उदाहरणका लागि कुनै विदेशी ग्राहकले नेपालमा ठूलो रकममा क्यासीनो खेल्न चाहन्छ भने त्यो रकम कानुनी रूपमा नेपालमा कसरी ल्याउने, खेलिसकेपछि वैधानिक रूपमा कसरी फिर्ता लैजाने ? राज्यले यसको स्पष्ट प्रणाली बनाउनुपर्छ ।

यदि कानुनी बाटो स्पष्ट भएन भने अवैध माध्यम प्रयोग हुने जोखिम रहन्छ । त्यसैले विदेशी मुद्राको कारोबार, चिप्स खरिद, जितेको रकम फिर्ता लैजाने व्यवस्था लगायतका विषयलाई नियमन गर्न सकिन्छ ।

हामीसँग यसका लागि विभिन्न विकल्पबारे आइडियाहरु छन् । राज्यसँग बसेर छलफल गर्ने हो भने क्यासिनोबाट कर मात्र होइन, अन्य वैधानिक माध्यमबाट पनि राज्यको आम्दानी बढाउन सकिन्छ ।

तपाईंले क्यासिनोबाट राज्यको आम्दानी निकै बढाउन सकिन्छ भन्नु भएको छ । कसरी ?

अहिले राज्यलाई राजस्व आवश्यक छ । क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ ।

मैंले हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावनाबारे कुरा गरेको छु । यो कुनै सामान्य दाबी मात्र होइन, लामो समयको अनुभवका आधारमा देखेको सम्भावना हो । तर यसको विस्तृत मोडल राज्यसँग बसेर छलफल गर्नुपर्छ । क्यासिनोबाट कसरी विदेशी मुद्रा भित्र्याउने, विदेशी ग्राहक कसरी आकर्षित गर्ने, उनीहरूको पैसा कानुनी माध्यमबाट कसरी नेपाल ल्याउने र त्यसबाट राज्यलाई कसरी आम्दानी गराउने भन्नेमा स्पष्ट योजना चाहिन्छ ।

क्यासिनोलाई सामाजिक विकृतिको रूपमा मात्र हेर्नु उचित हो ?

क्यासिनोमा नकारात्मक पक्ष हुन सक्छ । यसलाई अस्वीकार गर्नु हुँदैन । तर त्यसैका आधारमा क्यासिनो व्यवसायलाई सम्पूर्ण रूपमा विकृतिको रूपमा हेर्नु पनि उचित हुँदैन । लस भेगास, सिंगापुर र मकाउलाई हेर्ने हो भने क्यासिनो पर्यटन र मनोरञ्जन उद्योगको एउटा हिस्सा बनेको छ । त्यहाँ क्यासिनोमा काम गर्ने कर्मचारीलाई व्यावसायिक रूपमा हेर्ने गरिन्छ ।

नेपालमा भने क्यासिनोमा काम गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ । क्यासिनोमा काम गर्ने हजारौं कर्मचारी र उनीहरूमा निर्भर परिवार पनि छन् । मैले आफ्नो जीवनमा क्यासिनो क्षेत्रबाट रोजगारी पाएको छु र त्यही आम्दानीबाट परिवार चलाएको छु । त्यसैले यो कामप्रति मलाई कुनै हीनताबोध छैन । मैंले मेहनत गरेर कमाएको हो ।

नेपालका ठूला क्यासिनो बन्द हुनुमा राज्यको नीति मात्र जिम्मेवार छ ?

राज्यको नीति मात्र कारण हो भन्न मिल्दैन । अपरेटरको कमजोरी पनि हुन्छ । कतिपय क्यासिनोले राज्यलाई कर नतिरेको वा पुराना दायित्व बाँकी रहेको विषय पनि आएको छ । यस्ता विषयमा राज्यले आफ्नो अध्ययन गर्नुपर्छ ।

यसबाहेक कर्मचारी युनियन, होटल र क्यासिनोबीचको सम्बन्ध, लगानीकर्ता र सञ्चालकबीचको सम्झौता लगायतका धेरै पक्ष छन् । अर्कोतर्फ, भारतमा क्यासिनोको विस्तार भएपछि नेपालमा भारतीय ग्राहकमा आधारित क्यासिनो व्यवसायमा प्रतिस्पर्धा बढेको छ । त्यसको प्रभाव पनि परेको हुनसक्छ । यी सबै कारणलाई अलग–अलग तरिकाले अध्ययन गर्नुपर्छ ।

लगानीकर्ताको सुरक्षा कसरी गर्न सकिन्छ ?

लगानीकर्ता ल्याएर पैसा हाल्न लगाउने अनि केही समयपछि विभिन्न कारणले उसलाई व्यवसायबाट बाहिरिने अवस्था बनाउनु हुँदैन । लगानीकर्ताले पनि आफ्नो लगानी सुरक्षित हुने वातावरण खोज्छ ।

क्यासिनो सञ्चालनमा होटल, लगानीकर्ता र राज्यबीच त्रिपक्षीय समझदारीको आवश्यकता देख्छु । लगानीकर्ताको भुमिका के हो, होटलको भूमिका के हो, राज्यको नियमन र दायित्व के हो भन्ने स्पष्ट हुनुपर्छ ।

लगानीकर्ताले अर्बौं रुपैयाँ लगानी गर्दा राज्यले पनि उसको लगानीको सुरक्षा र स्थिर नीतिको सुनिश्चितता गर्नुपर्छ । नियम उल्लंघन भएको अवस्थामा कारबाही हुनुपर्छ, तर नियम नै पटक–पटक परिवर्तन हुने अवस्था हुनु हुँदैन ।

क्यासिनो क्षेत्रबारे तपाईंको आफ्‌नै अनुभव कस्तो छ ?

म करिब १९ वर्षको उमेरमा क्यासिनो क्षेत्रमा प्रवेश गरेको हुँ । त्यसपछि विभिन्न देश र संस्थामा काम गर्ने अवसर पाएँ । भारतको गोवामा पनि सात वर्ष काम गरेँ । त्यहाँ एउटा ठूलो टोली व्यवस्थापन गर्ने मेरो जिम्मेवारी थियो ।

नेपालमा पनि विभिन्न क्यासिनोमा सीईओ, जीएम र मार्केटिङ डाइरेक्टरका रूपमा काम गरेको छु । अन्नपूर्ण क्यासिनोमा पनि लगानीकर्ता ल्याउने प्रक्रियामा मेरो भूमिका थियो । तर पछि होटल नै बन्द/डिस्मेन्टल भएपछि क्यासिनो पनि बन्द भयो । यसले नेपालको व्यावसायिक विश्वसनीयतामा पनि प्रश्न उठाएको छ । कुनै लगानीकर्ता नेपालमा ठूलो लगानी लिएर आयो र परियोजना बीचमै बन्द भयो भने त्यसले भविष्यमा अर्को लगानीकर्ता आउन चाहने वा नचाहने निर्णयमा असर गर्न सक्छ ।

अब सरकारले क्यासिनो क्षेत्र सुधारका लागि तत्काल के गर्नुपर्छ ?

पहिलो काम स्थिर नीति बनाउनु हो । नियमावली पटक–पटक परिवर्तन गर्नु हुँदैन । क्यासिनो कहाँ, कुन स्तरको होटलमा र कुन मापदण्डमा सञ्चालन गर्ने भन्ने स्पष्ट हुनुपर्छ । दोस्रो, अनुभवी क्यासिनो विशेषज्ञलाई नीति निर्माण र कार्यान्वयनमा सहभागी गराउनुपर्छ । हामीजस्ता लामो समयदेखि यो क्षेत्रमा काम गरेका व्यक्तिसँग सरकारले बसेर छलफल गर्न सक्छ । तेस्रो, लगानीकर्ताको सुरक्षा गर्नुपर्छ । राम्रो लगानीकर्ता नेपालमा आउँदा उसले यहाँ दीर्घकालीन रूपमा काम गर्न सक्ने वातावरण पाउनुपर्छ ।

चौथो, विदेशी ग्राहकलाई लक्षित गरेर क्यासिनो पर्यटन विकास गर्नुपर्छ । नेपाल आउने विदेशी पर्यटकलाई क्यासिनो मात्र होइन, हिमाल, संस्कृति, धार्मिक पर्यटन र अन्य गतिविधिसँग जोड्न सकिन्छ ।

तपाईं राज्यसँग सहकार्य गर्न इच्छुक हुनुहुन्छ ?

अवश्य । मेरो मुख्य भनाइ नै यही हो । मैंले आफ्नो जीवनको ठूलो हिस्सा क्यासिनो क्षेत्रमा बिताएको छु । मंैले नेपालमा मात्र होइन, भारतमा पनि काम गरेको छु । त्यहाँका ठूला लगानीकर्ताले हाम्रो विशेषज्ञता पहिचान गरेर जिम्मेवारी दिएका छन् । नेपाल सरकारले पनि यस्तो विशेषज्ञतालाई उपयोग गर्नुपर्छ भन्ने मेरो आग्रह हो ।

राज्यलाई पनि सहयोग गर्न तयार छु । लगानीकर्तालाई पनि आवश्यक परे परामर्श दिन तयार छु । क्यासिनो व्यवसायलाई कसरी स्थिर बनाउने, विदेशी ग्राहक कसरी ल्याउने र राज्यलाई कसरी बढी आम्दानी हुने वातावरण बनाउने भन्ने विषयमा छलफल गर्न हामी तयार छौं ।

नेपालमा फेरि पुरानो समयमा जस्तो विदेशी ग्राहक आकर्षित गर्न सकिने सम्भावना छ । तर त्यसका लागि दृष्टिकोण परिवर्तन गर्नुपर्छ । राम्रो नीति, अनुभवी अपरेटर, सुरक्षित लगानी वातावरण र राज्यको सक्रिय समन्वय आवश्यक छ । क्यासिनो व्यवसायलाई केवल जुवा वा विकृतिका रूपमा हेरेर मात्र समाधान खोज्न सकिँदैन । यसको नकारात्मक पक्षलाई नियन्त्रण गर्दै रोजगारी, पर्यटन, विदेशी मुद्रा र राजस्वको सम्भावनालाई पनि हेर्नुपर्छ । राज्य, लगानीकर्ता, होटल र विशेषज्ञ सबै बसेर स्पष्ट प्रणाली बनाउन सके नेपालमा क्यासिनो व्यवसायले अहिलेको अवस्थाभन्दा फरक उचाइ लिन सक्छ ।