गृहपृष्ठ ‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन ।
संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा उनले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण गराए ।
“प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकारहरू अहिले पनि कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन । यसमा सङ्घीय सरकारले अधिकार हस्तान्तरणमा पहल गर्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री आचार्यले भने । संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहले उपयोग गर्न पाउनुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री आचार्यले भने, “संवैधानिक अधिकार कार्यान्वयन गर्न जरुरी छ । संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रूपमा कार्यान्वयनमा आउछ ।” उनले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि योगदान तथा बलिदान दिने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मान प्रकट गरे ।
प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा मुख्यसचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताए ।
प्रकाशित समय : ११:५० बजे


















