गृहपृष्ठ भारतले बालुवा उत्खनन गरेको ओरिया खोलामा भेटियो सीमा स्तम्भ
भारतले बालुवा उत्खनन गरेको ओरिया खोलामा भेटियो सीमा स्तम्भ
जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह गरेको छ ।
भारतीय पक्षले ओरिया खोला ठेक्का लगाएर दैनिक सयौं टेलर बालुवा उत्खनन गर्दै आएको छ । बालुवा उत्खननकै क्रममा बाढीले बगाएको तथा पुरिएको सीमा स्तम्भ भेटिएपछि नेपाली पक्षले उक्त भूमि भारतकै हो भन्ने यकीन नभएकाले नदीजन्य पदार्थ नझिक्न आग्रह गरेको हो ।
तीन दिनअघि ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमा स्तम्भ भेटिएको थियो भने बुधबार ४२२/१ नम्बरको सहायक सीमा स्तम्भ बालुवाले पुरिएको अवस्थामा भेटिएको छ । स्रोतका अनुसार ओरिया खोला र आसपासको क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमा स्तम्भ हराएका थिए ।
जगरनाथपुर गाउँपालिका– १ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमा स्तम्भ भेटिन थालेपछि जिल्ला सुरक्षा समितिले चासो दिएको थियो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए ।
प्रकाशित समय : ०७:०२ बजे



















