सुनकाे मूल्य बढ्यो, चाँदीकाे स्थिर
वि.सं.२०७९ माघ २३ सोमवार ११:२२
shares

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनकाे मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
यसअघि गत दुई कारोबार दिन अर्थात् शुक्रबार र आइतबार सुनकाे प्रतिताेला मूल्य क्रमश: १४ सय र २ हजार रूपैयाँ घटेको थियाे । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

























