रत्ननगरको अलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
वि.सं.२०८३ मंसिर १३ आइतवार १४:४१
shares

चितवन। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा लामो समयदेखि अलपत्र रहेको सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
निर्माणाधीन सभाहलको निरीक्षण गर्दै मन्त्री लम्सालले अस्पतालको सेवा विस्तारका लागि उक्त संरचना उपयोगी हुने भएकाले अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयास गर्ने बताए।
स्थानीयको माग र आवश्यकताअनुसार सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकासँग समन्वय गरेर अस्पतालले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताए। विसं २०७३ देखि निर्माण सुरु भएको सभाहल एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन।
चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकालले पनि सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै यस विषयमा मन्त्रीसँग पहिलेदेखि नै छलफल गर्दै आएको बताए। उक्त संरचना अस्पतालले प्राप्त गरे नर्सिङ कलेज सञ्चालन, बिरामीका लागि थप सेवा तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधि विस्तार गर्न सहज हुने उनको भनाइ छ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले एउटै नगरपालिकामा दुईवटा सभाहल आवश्यक नभएकाले निर्माणाधीन संरचना अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने बताए।
बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अङ्कुर पौडेलले अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने गरेको जानकारी दिए। भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको उनले बताए।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले बिरामीको चाप बढ्दै गएको अवस्थामा सभाहल उपयोग गर्न पाए स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम विस्तार गर्न सकिने बताए।

























