global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट

सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट

सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेका थिए।

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन्। उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन्। त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उपविदेश मन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा वृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छिन्।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन् । उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् । राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत भएकी थिइन् ।

उप(विदेश मन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन्। उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी थिइन् ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु