गृहपृष्ठ मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम

मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम

मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम

मदरल्याण्ड स्कुलको आयोजनामा कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । साेही अवसरमा २०७८ मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीलाई मायाको चिनो प्रदान गरी बधाई ज्ञापन गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विद्यार्थीहरुलाई बधाई दिँदै भविष्यमा नेतृत्व विकास गरी आफ्नै ठाउँ र देशमा रहेर कार्य गर्नु पर्ने हौसला दिए ।

कार्यक्रममा मनोविज्ञ तथा उत्प्रेरक विकास देव योन्जन तामाङले सकारात्मक सोच, विद्यार्थीहरुले लिनु पर्ने जीवनको लक्ष्य र असल मार्गसम्बन्धी अभिमुखीकरण गरेका थिए । यसका साथै जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर लोक बहादुर जिसीले विद्यार्थी जीवनमा जानेर वा अन्जानमा हुन सक्ने साइबर क्राइम र लागूपदार्थ दुर्व्यसनीसम्बन्धी सचेतता प्रदान गरेका थिए ।

विद्यालयका सञ्चालक/प्रिन्सिपल एवं नेशनल प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले विद्यार्थीहरुलाई समयानुकूल यस्ता प्रकारका अभिमुखीकरण कार्यक्रमले थप उर्जा मिल्ने र संस्कारसहित शिक्षा ग्रहणका लागि सहज हुने बताए । अहिलेको समयमा अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको संगत कस्तो छ, उनीहरुले मोबाइलमा के-कस्ता क्रियाकलाप गर्छन् र हेर्छन्, विदाको दिनमा घरभन्दा बाहिर जान्छन् कि जाँदैनन् ? जान्छन् भने कस्ता साथी छन्? आदि लगायतका कुराहरुमा विचार पुराउन उनले अनुराेध गरे ।

कार्यक्रममा शिक्षा क्षेत्रमा निरन्तर सेवा पुर्‍याउँदै आउएका मदरल्याण्ड स्कुलका व्यवस्थापन समिति सदस्य एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कृष्ण प्रसाद ग्वाछा र विद्यालयका शुभेच्छुक  तथा कानुनी क्षेत्रमा योगदान पुर्‍याउँदै आएका वरिष्ठ अधिवक्ता डा. प्रभाकर खनाललाई सम्मान गरिएको थियो ।

सुर्यविनायक वडा नं. ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले विद्यार्थी अभिमुखीकरण एवं एसईई बधाई कार्यक्रम हरेक वर्ष गर्दै आएको छ ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु