काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

378
shares

नारायणगढ।चितवनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्ला दिनमा विद्यालय अनुगमनलाई तीव्रता दिएको छ ।

जिल्लाका केही विद्यालयमा अनुगमनका क्रममा शैक्षिक गुणस्तरभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक र कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अनुगमनलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमन सुरु गरिएको हो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी र कानुनले तोकेको कार्यक्षेत्रबारे अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण अभ्यास अवलोकन गरी प्राविधिक सहयोग गर्न सुझाव दिएको उनले जानकारी दिए । त्यसका लागि विज्ञसहितको टोली बनाएर विद्यालय अनुगमन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

पोखरेलले भने, “अनुगमनका क्रममा धेरै शिक्षक तथा प्रधानाध्यापक उत्साहित भएको छन् । विद्यालयमा देखिएका समस्या समाधानका लागि प्राविधिक सहयोग गर्न उहाँहरूले सुझाव दिएको छन् । विशेषगरी कक्षाकोठा अवलोकन गरी शिक्षण सिकाइमा आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने उनिहरूको सुझाव छ ।” उनका अनुसार अनुगमनको विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको छ ।

विद्यालय अनुगमनमा स्थानीय तहसँग पनि समन्वय गरिएको उनले बताए । अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै उनले शिक्षकबाट अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुझाव दिन आग्रह भएको बताए ।

अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले आफूले थालेको कामलाई केही समयका लागि गरिएको देखावटी प्रयासका रूपमा व्याख्या गर्ने र नकारात्मक टिप्पणी गर्ने गरिएको पनि गुनासो गरे । यस्ता टिप्पणीले काम गर्ने उत्साहमा असर पर्ने उनको भनाइ छ ।

चितवनमा सामुदायिक, संस्थागत र धार्मिक गरी ४९७ विद्यालय सञ्चालनमा छन् । इकाईका अनुसार जिल्लामा ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय छन् । चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत छ ।