गृहपृष्ठ सल्यानमा ७ प्रतिशतभन्दा बढी मत बदर

सल्यानमा ७ प्रतिशतभन्दा बढी मत बदर

सल्यानमा ७ प्रतिशतभन्दा बढी मत बदर

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा यही मंसिर ४ गतेको निर्वाचनमा ७ प्रतिशतभन्दा बढी मत बदर भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फ सात र समानुपातिकमा ८ प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा प्रभावकारी बनाउन नसक्दा मतदातामा भएको अन्योलताका कारण प्रत्यक्ष र समानुपातिकमा धेरै मत बदर भएको हो । कुल खसेको मतअनुसार प्रत्यक्षमा ११ हजार ६ सय १५ र समानुपातिकमा १२ हजार ४ सय ४६ मत बदर भएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि खसेको कुल मत ७६ हजार ३ सय ५ मा ७ हजार ३ सय ५९, प्रदेशसभाअन्तर्गत सल्यान १ मा खसेको ४१ हजार १ सय ७६ मतमा २ हजार ३ सय ४८ र २ मा ४१ हजार ९ सय ६७ मत खसेकोमा १ हजार ८ सय ९८ मत बदर भएका छन ।

समानुपातिकमा प्रतिनिधिसभाका लागि ८४ हजार ७ सय ८९ मत खसेकोमा ६ हजार २ सय १५ र प्रदेशसभामा ८२ हजार ९ सय ९८ मत खसेकोमा ६ हजार २ सय ३१ मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन सरोकारवाला सबैको जिम्मेवारी रहे पनि प्रभावकारी नभएकै कारण खसेको मत बढी बदर भएको निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले बताए ।

प्रत्यक्षमा थोरै चिह्न र समानुपातिकमा धेरै चिह्न भएकाले मतदाता अलमलमा परेका कारण समानुपातिकमा बढी मत बदर भएको उनको भनाइ छ । उनका अनुसार एकै मतदाताले एक चिह्नमा मात्र नभई धेरैमा छाप लगाएको पाइएको छ । निर्वाचनमा कार्यालयले स्वयंसेवक भर्ना गरेर जिल्लाका सबै पालिकामा मतदाता शिक्षा दिएको उनको भनाइ छ ।

सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता छन् । जिल्लाभरिका २ सय ५ मतदान केन्द्रबाट कुल ८४ हजार अर्थात् ५३.२७ प्रतिशतले मतदान गरेका थिए ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु