गृहपृष्ठ पूर्व-पश्चिम सांगीतिक यात्रामा निस्कँदै नेपथ्य
पूर्व-पश्चिम सांगीतिक यात्रामा निस्कँदै नेपथ्य
सांगीतिक समूह नेपथ्यले पूर्वदेखि पश्चिमसम्म एक महिना लामो देशव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । नेपथ्यले आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म ‘मानवता प्रवर्द्धन अभियान’अन्तर्गत सांगीतिक कार्यक्रम गर्न लागेकाे हाे ।
विराटनगरस्थित हाटखोला मैदानमा मंसिर १६ बाट नेपथ्यको पहिलो प्रस्तुति सुरु हुने छ । त्यसपछि १९ गते वीरगन्जको आदर्शनगर रंगशाला र २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदानमा नेपथ्यले प्रस्तुति दिने छ ।
त्यसैगरी, २५ गते नारायणघाटको क्याम्पाचौर र २९ गते नेपालगञ्जमा नेपथ्यकाे सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि पुस ३ गते ब्यान्डले धनगढीको रंगशालामा प्रस्तुति दिने छ भने वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ र बुटवलस्थित रामनगर खेलमैदानमा ९ गते ब्यान्डले प्रस्तुति दिने तय भएकाे छ ।
त्यसपछि नेपथ्यको यात्रा होम ग्राउण्डमा प्रवेश गर्ने छ । पुस १२ गते ब्यान्डले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्नेछ । अन्तिममा ब्यान्डले पुस १६ गते काठमाडाैंकाे भृकुटीमण्डपमा प्रस्तुति दिने छ ।
नेपथ्यको यो यात्रालाई नेपालयले व्यवस्थापन गरेको छ ।
प्रकाशित समय : १२:०२ बजे



















