गृहपृष्ठ फेवातालको जलकुम्भी सफाइ अभियान (फाेटाेफिचर)
फेवातालको जलकुम्भी सफाइ अभियान (फाेटाेफिचर)
पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न संघ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।
सरसफाइको पहिलो दिन विभिन्न संघ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुंगा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिए । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ ।
फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो । बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ ।



प्रकाशित समय : १३:३८ बजे



















