गृहपृष्ठ हिजोराति ४ बुँदे सहमति, आज फेरि फोहोर फाल्न अवरोध
हिजोराति ४ बुँदे सहमति, आज फेरि फोहोर फाल्न अवरोध

हिजो दिनभर पनि सिसडोल-बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त नै थियो । काठमाडौंबाट लाइन लागेर पुगेका फोहोर बोक्ने गाडीहरु झण्डै दुईसयको हाराहारीमा थिए । तर फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुग्नुअगावै स्थानीयले सिसडोलमा रोकिदिएपछि अवस्था मुडभेडतिर गयो ।
काठमाडौंबाट फोहोरले भरिभराऊ गाडीसहित दुई एसपीको कमाण्डमा गएको प्रहरी टोलीले स्थानीयमाथि हातापाई गर्न खोजेपछि अवरोध केही खुकुलो भयो । स्थानीयहरुलाई तितरबितर बनाउँदै प्रहरीले बलजफ्तीमै फोहोर विसर्जनको काम सम्पन्न गर्यो ।
समस्या समाधानका लागि दिनभर छलफलमा रहेका सीडिओहरुसहित सरोकारवाला स्थानीय पालिकाहरुले सहमतिको प्रयास गरे । र, बेलुकापख ४ बुँदे सहमति भयो । यो सहमति हालसम्म गरिएका मध्येको १७५ औं सहमति थियो ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति त भयो । तर २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फाल्न रोक लगाएका छन् ।
काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ ।
बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्नेगरि ४ बुँदे सहमति भएको थियो ।
तर स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय : ११:०८ बजे