गृहपृष्ठ प्राविधिक शिक्षामा छात्राको आकर्षण बढ्दो
प्राविधिक शिक्षामा छात्राको आकर्षण बढ्दो
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् ।
२०६८ मा जिल्लामा नै पहिलो पटक सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले ११ वर्षको अवधिमा पाँच सय बढी कृषि प्राविधिक उत्पादन गर्नुका साथै शिक्षालयको भौतिक पूर्वाधारमासमेत उल्लेख्य सफलता प्राप्त गरेको छ । कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधार थप गरिएको छ ।
सुविधासम्पन्न भवनमा सूचना र प्रविधिका अत्याधुनिक साधनको प्रयोग गरेर शिक्षा दिइँदै आएको शिक्षालयका संयोजक करन कँडेलले बताए । विद्यार्थीलाई किसानका खेतबारी र पशुगोठमा नै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उनको भनाइ छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।
२०६८ मा सीटीइभीटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटीए, पाँच वर्ष अघि (२०७४ सालदेखि) तीनवर्षे आइएससी (एजी) र २०७६ सालदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक कँडेलले जानकारी दिए ।
उनका अनुसार शिक्षालयमा ९० छात्रा र ५१ छात्र अध्ययनरत छन् । हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ विद्यार्थी अध्ययनरत छन् । कृषि डिप्लोमा ५१ , डिप्लोमा पशुतर्फ ६० र प्रि डिप्लोमातर्फ ३० गरी १४१ विद्यार्थीले कृषि र पशुसम्बन्धी शिक्षा लिइरहेका छन् । मासिक पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ ।
त्यसैगरी पशु विज्ञानतर्फ दोस्रो सेमिस्टरमा अध्ययनरत सुरन विकले स्वरोजगार र ग्रामीण भेगका पशुपालक कृषकहरुको सेवाका लागि आफूले पशु विज्ञान रोजेको जानकारी दिए । १८ महिने जेटीएमा अध्ययनरत तारा शर्माले अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटीए बनेपछि आधुनिक रूपमा व्यावसायिक कृषि पेशा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताइन् ।
स्थानीय स्रोतका भरमा शिक्षकलाई तलब खुवाएर यो शिक्षालय सञ्चालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका बिमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्वुजाको भनाइ छ । विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको उनले बताए ।
प्रकाशित समय : १२:३४ बजे




















