काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टेम्केमैयुङमा ५०० परिवारलाई विद्युतीय चुलो वितरण

903
shares

काठमाडौं – भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्वच्छ ऊर्जाको प्रयोग बढाउने र दाउरा तथा खाना पकाउने ग्यासमाथिको निर्भरता घटाउने उद्देश्यले स्थानीयवासीलाई विद्युतीय चुलो वितरण गरेको छ ।

गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा पहिलो चरणमा ५०० वटा इन्डक्सन चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । चुलो खरिदमा स्थानीय उपभोक्ताले ३० प्रतिशत लागत साझेदारी गरेका छन् ।

अध्यक्ष बस्नेतका अनुसार परम्परागत रूपमा दाउरा तथा ग्यास प्रयोग गर्दै आएका नागरिकलाई विद्युतीय चुलोको प्रयोगतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको हो। विद्युतीय चुलोको प्रयोगले आयातीत खाना पकाउने ग्यासको खपत घटाउनुका साथै दाउराको प्रयोग न्यूनीकरण गर्न र खाना पकाउने समय बचत गर्न सहयोग पुग्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले विद्युतीय चुलोको प्रयोगले दाउरा बाल्दा भान्सामा उत्पन्न हुने धुवाँजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने बताइन् । यसबाट घरभित्रको वायु प्रदूषण घट्नुका साथै खाना पकाउने काम सहज, सफा र सुविधाजनक हुने उनको भनाइ छ ।

गाउँपालिकाका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको मापदण्डअनुसार घरमा १५ एम्पियर क्षमताको विद्युत् जडान तथा आवश्यक सुरक्षा उपकरण (एमसीबी) भएका परिवारलाई मात्रै चुलो वितरण गरिएको हो। सोही मापदण्डका आधारमा आवेदन दिएका स्थानीयलाई चुलो उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

ग्रामीण क्षेत्रमा विद्युत् सेवाको पहुँच विस्तार भइरहेका बेला विद्युतीय उपकरणको प्रयोग बढाएर स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न कार्यक्रमले सहयोग पुर्‍याउने गाउँपालिकाको अपेक्षा छ ।