गृहपृष्ठ पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता
पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता
कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो । तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख, द्वितीय हुनेले चार लाख, तृतीय हुनेले दुई लाख तथा सान्त्वना हुने समूहले एक लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिए । कार्यक्रमबाट ५५ लाख आम्दानी हुने आयोजक संस्थाले जनाएको छ ।
एक समूहमा महिला र पुरुष एक÷एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गनुपर्ने छ । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ‘ह्योल्मो’ले बताए । ‘प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा संग्राहालय निर्माण गर्नु रहेको छ’, उनले भने ।
नेपाली लोकबाजाको संरक्षण, सम्बर्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको छ । बचत रकमबाट लोकबाजा संग्राहालय स्थापना गरिने छ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत संकलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्याउनु भएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो ।
स्व. शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र…, सुखी ज्यानलाई गुँदरी काम्लो…, आहा कलिलो तामालाई सोध रामलाई…, ऐ भेना यो सला, ल्याइदेउ मलाई पछ्यौरी मलमललगायतका गीतहरु संकलन गरेका थिए ।
शेरचन नेपाली गीत संगीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल भएका थिए ।
प्रकाशित समय : ०८:२५ बजे


















