फेरि भित्रियो नेपालमा सलह, पहिलेभन्दा बढी क्षति गर्ने अनुमान
वि.सं.२०७७ असार २८ आइतवार २३:३७
shares

सलहको एउटा झुण्ड आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्र हुँदै दाङको गढवा गाउँपालिका- २ र ३ वडामा प्रवेश गरेको छ । सलह नेपाल प्रवेश गरेसँगै किसानलाई सरकारले सचेत गराएको छ ।
प्वान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आज दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा सलह देखिएको र कृषकले विभिन्न अवरोधहरु सिर्जना गरी बस्न नदिएपछि उत्तर पूर्वतर्फ लागेको छ। हाल नेपाल प्रवेश गरेको सलहले प्यूठान, अर्घाखाँची लगायतका जिल्लाहरुमा नोक्सान गर्न सक्ने सम्भावना छ । थप झुण्डहरु समेत आउनसक्ने सम्भावना रहेकाले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ ।
अहिले नेपाल प्रवेश गरेको सलहले यसअघिभन्दा ठूलो नोक्सानी गर्नसक्ने किट वैज्ञानिकहरुले बताएका छन् । पहिला झुण्डबाट टुक्रिएर सलह आएको भए पनि अहिले नेपालमा एउटा झुण्ड नै प्रवेश गरेकाले बढी क्षति गर्ने कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक सुदीप उपाध्यायले बताए । उपाध्यायका अनुसार एउटा झुण्डमा पाँचदेखि सात करोड सलहको संख्या हुन्छ ।
नेपालमा यसअघि आएका सलहले प्रजननका लागि अनुकुल वातावरण नपाएपछि नष्ट भएर तथा केही फर्किएर गएको बताइएको छ । हावा बहने दिशाअनुसार सलह उड्ने विज्ञहरुले बताएका छन् ।

























