पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग
वि.सं.२०७७ असार २८ आइतवार २३:१६
shares

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आइतबार नेपाल आयल निगम लिमिटेडको कार्यालयअगाडि धर्ना दिइएको छ । सरकारले शुक्रबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको थियो ।
कोभिड- १९ नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आम उपभोक्ताको रोजगारी खोसिएको अवस्थामा सरकारले पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा युवाले एक घण्टा धर्ना दिएका हुन् ।
सरकारले त्यसअघि असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । दश दिनको बीचमा पेट्रोलको मूल्य लिटरमा छ र डिजेलमा तीन रूपैयाँले बढेको छ । मूल्य बढेसँगै पेट्रोलको मूल्य लिटरको १०२ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८८ रूपैयाँ भएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् राखिएको छ ।
सोही अवसरमा नेविसंघका महामन्त्री दीपक भट्टराईले कोरोनाको महामारीका समयमा पनि सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाउनु उचित नभएको भन्दै बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलन गर्ने बताए ।

























