‘रेड कर्नर नोटिस’ जारी भएका व्यक्ति विमानस्थलबाटै पक्राउ
वि.सं.२०७७ असार २९ सोमवार ००:३०
shares

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका- ४ घर भएका ४२ वर्षीय हरिशरण खड्कालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेतीसमेत भएको अपराधिक समूह स्थापना र सञ्जाल गरी सुन अवैध चोरी निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार प्रतिवादीहरु मध्येका खड्का दुबईबाट हिमालयन एयरलाईन्सको फ्लाईटमा नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ९ गते ईन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो । खड्कालाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको उक्त शाखाले जनाएको छ ।

























