रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०७७ असार २९ सोमवार १८:५७
shares

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष ताराचन्द केडियाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभाले सञ्चालक समितिको आव २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वासलत, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । यसका साथै कम्पनीको आव २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण गर्ने सामान्य प्रस्तावहरु पनि सभाबाट पारित भएका छन् ।
साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीले २०७४ मंसिर १ गतेदेखि विधिवत् रुपमा जीवन बिमासम्बन्धी सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयबाट आफ्नो कार्य सञ्चालन गरिरहेको छ । कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
उक्त जारी पुँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड रुपैयाँ बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।

























