काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कान्छा सारंगीमा रुन्थे, बाँसुरीमा विरह पोख्थे

26.52K
shares

तीन दिदी र चार दाजुका एक्ला भाइ उनको आँखा पाक्ने रोगले  बाल्यकालमै दृष्टि गुम्यो । १० वर्षको हुँदा बुवा बिते २०४२ सालमा । त्यसको दुई वर्षपछि आमा पनि रहिनन् । १४ वर्षे किशोरवयमा उनी टुहुरा बने, संसार अँध्यारो भयो उनका लागि । मन भक्कानियो, वैरागियो । बुवाको यादले नैराश्यतामा डुबे । मन बुझाउने ठावैँ थिएन ।  हरपल, हरक्षण बुवाको सम्झनाले पिरोलिँदा उनले मन बहलाउने सहारा संगीत बनाए । बाँसुरी र सारंगीको भाकाहरुमा आफूलाई पोखेर बुवाको यादबाट टाढिए ।

बुवा र आमा साथमै हुँदा उनका लागि संसार स्वर्गझैं थियो । आँखामा दृष्टि त थिएन तर पनि सबैथोक थियो । बुवाकै सहारामा वल्लो गाउँ‑पल्लो गाउँ चहार्थे, आमाको वात्सल्यमा रम्थे, सारंगीको तारबाट जादुयी धुनहरु सुनाउँदै । दिनचर्याहरु यसरी नै बितिरहेका थिए, हिउँद अनि बर्खा गरेर । दिनपछि रात । अँध्यारो अनि उज्यालो । यो सांसरिक रीतिले कसलाई पो छाड्थ्यो र ! बुवा दिलबहादुर र आमा देउमायाको वियोगले पिरोलिएका उनी अर्थात् कृष्णभक्त राईले गाउँ छाड्ने निधो गरे । जन्मथलो धनकुटाको आहालेमा मन नअडिएपछि उनी धरान झरे । यो मिति थियो २०४४ साल । करिब एक दिनको पैदल यात्राको दूरीमा रहेको धरान सहर उनको गन्तव्य बन्यो । जहाँ उनले धरान ज्ञानचक्षु विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरे । सोही विद्यालयमा संगीतको औपचारिक शिक्षासमेत लिए ।

समयलाई पछ्याउँदै वा भाग्यको लहरीमा लहरिँदै, उनी गाउँ नै फर्किए । छिन्ताङ आदर्श माविमा उनको एक वर्ष बित्यो । त्यसपछि धरान नै फर्किएर शिक्षा सदन माविबाट पढाइलाई अगाडि बढाए । तर दुर्भाग्य, बिरामी भएपछि सेन्ट अप टेस्ट (कक्षा १० को अन्तिम परीक्षा)मा भने उनी सहभागी हुन सकेनन् । त्यसपछि उनको औपचारिक शिक्षाले सदाका लागि बिदा लियो । उनी गीतसंगीतमा रम्न थाले । भाकाहरुमा स्वर भरिरहे, वाद्यवादनमा खेलिरहे । त्यही कर्मले अहिलेको ‘कृष्णभक्त राई’ बनायो उनलाई ।

८ वर्षकै उमेरमा सारंगी बजाउन सिकेका उनी सारंगीकै तारहरुमा खेल्थे, रमाउँथे अनि संगीतको सुदूर यात्रामा आफूलाई समाहित गर्थे ।

धरान झर्नुअघि उनका लागि संसार भन्नु जन्मथलो पहाडी गाउँ आहाले मात्र थियो । त्यहीँको परिवेशका उनको मन खुल्थ्यो, रमाउँथ्यो । ८ वर्षकै उमेरमा सारंगी बजाउन सिकेका उनी सारंगीकै तारहरुमा खेल्थे, रमाउँथे अनि संगीतको सुदूर यात्रामा आफूलाई समाहित गर्थे । थाहा थिएन उनलाई ग्रामीण संगीतको अन्जान गन्तव्य कहाँ छ भनेर । सारंगीमा धुनहरु निकाल्न थालेसँगै धरान उनका लागि पानी पँधेरो भएको थियो । ढाकरमा नुनको भारी खेप्ने गाउँलेहरुलाई पछ्याउँदै उनी घरबाट निक्लन्थे सारंगी भिरेर । बाटैभरि सारंगी रेट्दै, स्थानीय भाकाहरु सुनाउँदै धरानसम्म पुग्दा उनको खल्तीमा दुई‑तीन सय रुपैयाँ जम्मा भइसक्थ्यो जबकि थाप्लोमा नाम्लोको डोब बसुन्जेल भारी खेप्नेहरुले त्यति रकम ज्याला पाउँदैनथे । सारंगीको कथा जम्मा ८ वर्षका मात्र थिए उनी । मादल र बाँसुरी बजाउन जानिसकेका थिए ।

गाउँघरमा चलनचल्तीको बाजा भएर पनि होला उनका लागि यी बाजा बजाउन खासै गाह्रो भएन । तर सारंगी भने हम्मेसा जोकोहीले बजाउने बाजा नभएर हुनसक्छ, उनले देखेका थिएनन् । संयोग वा लेखान्त भनौं, नजानिँदो किसिमले उनी सारंगीको समीपमा पुगे । छिमेकी गाउँ छिन्ताङका एक व्यक्ति, जो नाताले उनको बाजे पर्थे । उनै बाजे थोत्रो सारंगी भिरेर आहाले पुगेका थिए । बाजेको सारंगी रेटाइमा भाका मिलेको होस् वा नहोस् तर तारहरुको कम्पनले कृष्णभक्तको मन खिचिदियो । त्यतिबेलै उनलाई लागेको थियो, मसँग पनि सारंगी भएको भए ! नभन्दै चिताएको पुग्यो । गाउँकै अर्का एक जना बाजेसँग पनि उस्तै थोत्रो सारंगी रहेको उनले गम पाए । र, अनेक अनुनय-विनय गरेर केही दिनका लागि त्यो सारंगी उनले घर ल्याए । बल्ल-बल्ल पाएका के थिए, साँझ–बिहान उनी यति भुले कि बुवाले समेत उनलाई गाली गर्नुपर्‍यो‑ ‘बल्ल काम पाइस्’ ।

जिन्दगीमै पहिलोपटक छोएको त्यो सारंगी उनले यति रेटेछन् कि सायद सारंगी हार्‍यो, कृष्णभक्तले जिते । लगातार तीन दिनको जबर्जस्त रेटाइपछि जसै धुन निस्कियो, ‘घरबेटी दाजु, आँगनीमा देऊ न मलाई बास…’ । कृष्णभक्त कति पुलकित भए होलान् ! सायद हर्षले भुइँमा खुट्टा थिएन होला । गावैँभरि हल्ला चल्यो- ‘कान्छा’ले सारंगी पनि बजाउन थाल्यो रे ! गाउँघरमा उनी ‘कान्छा’ नामले चिनिन्थे । त्यसपछि उनी तल्लो घर, माथिल्लो घर बोलाइए । र, वारिपारिका गाउँहरुसम्म । अनि मन बदलियो एवं रीतले जीवन चल्दै थियो, उनले काठमाडौं आउने निर्णय गरे । यो मिति थियो २०५५ साल । जहाँ आजपर्यन्त उनको संगीत कर्म जारी छ ।

काठमाडौं छिरेपछि भने उनको खास ‘संगीतको संघर्ष’ सुरु भयो । यस दौरान उनले रेस्टुराँमा गाए । रेकर्डिङ स्टुडियोमा वाद्यवादकको काम गरे । उनी झरना संगीतमा २०५३ सालदेखि एक वर्ष, रिमा रेकर्डिङमा तीन वर्ष र महेन्द्रनगरस्थित अर्को एउटा स्टुडियोमा एक वर्ष वाद्यवादक भए । यस्तै–यस्तैमा उनलाई आफैँ व्यवसायी हुन मन लाग्यो सायद । कञ्चन रेकिर्डङ स्टुडियोका मालिक पनि भए उनी २०५९ देखि ६ वर्षसम्म । यस बीचमा उनी रेस्टुराँमा गाउनका लागि सिंगापुर जाने तयारीमा थिए । तर, अन्तिम समयमा उनको टिम सफल भएन । ‘अन्तर्राष्ट्रिय पियानो फेस्टिभल’मा भाग लिन उनी सन् २०१४ मा जापान गए । त्यहाँ उनले सारंगी, बिनायो, मुर्चुङ्गा लगायतका नेपाली लोकबाजाहरुसमेत प्रस्तुत गरेका थिए ।

संगीत यात्रा सांगीतिक यात्रामा अहिले पनि निरन्तर यात्रारत उनी गीत गाउँदैनन् मात्र, संगीत भर्नु र एरेन्ज गर्नु पनि हो उनको संगीत कर्म । यतिका वर्षसम्म साधनारत र संघर्षरत उनी संगीत क्षेत्रमै लागेर बाँच्न भने अझै पनि गाह्रो नै रहेको बताउँछन् । नेपालका अधिकांश लोकबाजासहित २६ प्रकारका बाजा बजाउने उनलाई नेपाली संगीत क्षेत्र अझै व्यावसायिक भइनसकेको जस्तो लाग्छ । उनले करिब १७ सयवटा जति गीतमा स्वर भरिसकेका छन् । हाल उनी बेलायतका लागि नेपाली राजदूत दुर्गा सुवेदीको एकल शब्द र आफ्नै एक संगीतको एल्बमको काममा व्यस्त छन् । एल्बमका गीतहरुमा राजेशपायल राई, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, लोचन भट्टराई र उनले स्वर भरेका छन् ।

दशैंअघि नै सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए । जीवनमै पहिलो गीत उनले धरानमा रेकर्ड गराएका थिए । २०४८ सालमा रेकर्ड भएको ‘आज यो मन उडाइलग्यो…’ बोलको गीत उनको पहिलो रेकर्डेड गीत हो । रेडियो नेपालमा भने २०४९ सालमा ‘हो म एउटा विवश यात्री…’ बोलको उनको गीत रेकर्ड भएको थियो । यसरी अञ्जान-अञ्जानमै नेपाली संगीत क्षेत्रमा होमिएका उनले अनकौं आरोह‑अवरोह पार गरिसकेका छन् । यसबीचमा कैयन् हण्डर र ठक्कर खाए होलान् तर पनि उनको सांगीतिक यात्रा विचलित भएको छैन । खासगरी कारुणिक गीतहरुमा ‘म्याच’ हुने स्वर भएका गायकको रुपमा पहिचान बनाएका उनको ब्रान्डेड गीत भने ‘नमुछे आमा दहीमा टीका…’ नै हो । नारायण रायमाझीकै संगीत र स्वरमा रेकर्ड भइसकेको यो गीतलाई कृष्णभक्तले पुनः रेकर्ड गराएका थिए । अत्यधिक लोकप्रिय भएको यही गीतले उनलाई ‘कृष्णभक्त’ बन्न निकै मद्दत पुर्‍यायो । नारायण रायमाझीका दाई लक्ष्मण रायमाझी, जो भारतीय सेनामा कार्यरत थिए । उनले आफूजस्ता नेपालीहरुको भावाना समेटेर लेखेको यो गीत नेपाली संगीत क्षेत्रका सदावहार ‘दसैं गीत’मध्येमा पर्छ ।

उनलाई मन पर्ने आफ्ना गीतहरुमा भने ‘धर्ती आकाशजस्तै भयौं…’, ‘ढुंगा दुखेको छ यहाँ…’, ‘उनको जीवन मेरो कथा…’, ‘घर राम्रो चुनाले…’लगायत छन् । उनले लोकदोहोरी पनि गाएका छन् । सुनीता थेगिमसँग उनले गाएको गीत ‘बिनायो कङकङ…’ अहिले चर्चामा छ । उनलाई मन पर्ने गीतमा भने नारायण गोपालको ‘मेरो गीत मेरै प्रतिविम्ब होइन…’ र तारादेवीको ‘सोचेजस्तो हुन्न जीवन…’ हुन् ।

कृष्णभक्त आफूलाई नारायण गोपाल र गोपाल योञ्जनबाट प्रभावित भएको बताउँछन् । भन्छन्, ‘उहाँहरुबाट सिक्नुपर्ने कुरा धेरै छन् । इतिहासबिना कोही पनि अगाडि बढ्न सक्दैन । त्यसैले पनि अग्रजहरुको सम्मान अनिवार्य छ ।’ एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति कहीँ पनि नहोस् भन्छन् उनी । हरेक क्षेत्रका हरेक व्यक्ति अनुशासनमा बसे समाज र सिंगो मुलुक समृद्ध तथा सुखी हुने उनको बुझाइ छ । नेपाली संगीतका नयाँ पुस्तामा मेहनत नगरी चाँडै चर्चित हुने महत्वकांक्षा बढेकोप्रति कृष्णभक्तको चिन्ता छ ।

उत्कृष्ट सिर्जनाका लागि लगातार साधना र अभ्यास गर्न उनी सुझाव दिन्छन् । उनका दुई सन्तानमध्ये जेठा अकिल संगीत विषय नै लिएर स्नातक तहमा अध्ययनरत छन् । कान्छा छोरा मनसुन पनि वाद्यवादनमै सक्रिय छन् ।  उनको परिवारको माहौल नै संगीतमय छ । श्रीमती आशा राई गीत लेख्छिन् । अघिल्लो पुस्तामा कोही पनि संगीत क्षेत्रमा नभए पनि अहिले आएर भने परिवारका सबैजना संगीतमै लागेकोमा उनलाई खुसी लाग्छ ।