सङ्घीयता कार्यान्वयनका कानुनी अवरोध हटाउन मुख्यमन्त्री शाहीको जोड
वि.सं.२०८३ कात्तिक १९ बिहीवार २१:५९
shares

मुगु। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी जटिलता हटाउन आवश्यक रहेको बताएको छन् ।
मुगुमा रहेको नेपालको प्रमुख पर्यटकीय स्थल रारामा आज सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले तीनै तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यका आधारमा काम भइरहेको बताउँदै कतिपय ऐन तथा कानुन सङ्घीयताको भावना र मर्मअनुसार कार्यान्वयनमा बाधक भएकाले ती कानुनी जटिलता हटाउन सङ्घीय सरकार लाग्नुपर्ने धारणा राखे् ।
मुख्यमन्त्री शाहीले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच अधिकार तथा कार्यक्षेत्रसँग सम्बन्धित कानुनी अस्पष्टता हटाउन आवश्यक संशोधन र कानुनमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिए । सङ्घीय शासन प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारबीच आपसी समझदारी आवश्यक रहेको पनि उनले बताए ।
महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले तीनै तहका सरकारबीच समन्वय र सहकार्य बढाउँदै कार्यसम्पादनमा सहजता ल्याउने खालका नीतिनिर्माण गर्नुपर्ने सुझाव दिनुभयो । उनले भने, “सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरकारका विभिन्न तहबीच कानुनी तथा संस्थागत समन्वय आवश्यक छ ।”
‘सक्षम मुख्य न्यायाधिवक्ता, सुदृढ प्रदेश सरकार र प्रभावकारी सङ्घीयता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारको आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू तथा महान्यायाधिवक्ताहरूको सहभागिता छ ।
उद्घाटन सत्रको अध्यक्षता गरेका कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता सर्वराज जोशीले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेश सरकारका कानुनी अधिकार, सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा कानुनी सुधारका विषयमा छलफल हुने बताए ।
उनका अनुसार पहिलो दिन सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूबाट राय तथा सुझाव सङ्कलन गरिने छ भने दोस्रो दिन विगतका सम्मेलनबाट जारी घोषणापत्रको कार्यान्वयन अवस्थाबारे समीक्षा गरी रारा घोषणापत्र जारी गरिनेछ ।
सम्मेलनले प्रदेश सरकारका कानुनी तथा संवैधानिक अधिकारलाई थप स्पष्ट बनाउनाका साथै सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध प्रभावकारी बनाउन साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ । सम्मेलन २० कात्तिकमा रारा तालको किनारमा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । सम्मेलनले रारा तथा मुगुको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ ।

























