गृहपृष्ठ स्वतन्त्र उम्मेदवार बन्न स्नातक अनिवार्य, उम्मेदवारी घोषणा गरेकै दिन सम्पत्ति विवरण
स्वतन्त्र उम्मेदवार बन्न स्नातक अनिवार्य, उम्मेदवारी घोषणा गरेकै दिन सम्पत्ति विवरण
स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको विशेष भेला शनिबार ललितपुरमा सुरु भएको छ । भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले अवधारणा पत्र प्रस्तुत गरेको छन् ।
भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न बुँदामा मापदण्ड तयार गरेकाे छ । साे मापदण्डअनुसार ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, स्नातक तह सम्मको शिक्षा हुनुपर्ने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड तयार गरिएको छ । उम्मेदवार बनेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने, भष्टाचारको अभियोग नलागेको, विदेशी पिआर वा ग्रिनकार्ड नलिएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।
स्वतन्त्र उम्मेदवारको मापदण्ड :
(१) हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ ।
(२) राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्ध भत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।
(३) सांसद वा मन्त्रीले देश-विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।
(४) प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ ।
(५) सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ ।
(६) उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ ।
(७) प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।
(८) उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन । जस्तै-निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरू नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ ।
(९) विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रूपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिने छैन ।
(१०) तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरूलाई मतदान गरिने छैन ।
(११) उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिक रुपमा खुलाउनुपर्नेछ ।
(१२) भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।
(१३) सांसद वा मन्त्री बनेर बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरुमा हुने दलीय भागबन्डाको संसदमा खुलेर विरोध गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।
प्रकाशित समय : २०:२० बजे



















