काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

630
shares

ai logo सारांश

  • गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ ।
  • प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् ।

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् ।

प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने सुविधा ल्याएको थियो ।

नयाँ सुविधामार्फत प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति सामग्री, स्प्रेडसिट, कोडलगायतका समर्थित फाइल जेमिनाई एप नछाडीकन सम्पादन गर्न सक्नेछन् । फाइललाई पूर्ण स्क्रिनमा खोलेर सामग्री परिवर्तन गर्न सकिनेछ ।

त्यस्तै, फाइलको कुनै निश्चित अंश छानेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न र सम्पादनकै क्रममा थप निर्देशन दिन सकिनेछ । यसले एआईबाट तयार पारिएको सामग्रीलाई आवश्यकताअनुसार सुधार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

यद्यपि, सबै फाइल सम्पादन सुविधा मोबाइलमा उपलब्ध छैनन् । पीडीएफ हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवै संस्करणमा उपलब्ध छ । गुगल डक्स, गुगल सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी र कोड फाइल सम्पादन गर्ने सुविधा भने हाल वेब संस्करणमा मात्र उपलब्ध रहेको जीएसएम एरिनाले जनाएको छ ।

गुगलका अनुसार नयाँ सुविधा जेमिनाई प्रयोग गर्ने सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो सुविधा जेमिनाई एपमा उपलब्ध सबै भाषामा प्रयोग गर्न सकिनेछ । नयाँ सुविधाले सामग्री निर्माणदेखि सम्पादनसम्मको काम एउटै च्याटमा गर्न सकिने बनाएको छ । यसबाट प्रयोगकर्ताले जेमिनाई र अन्य सम्पादन उपकरणबीच पटकपटक आवतजावत गर्नुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ ।