काठमाडौं फिल्म फेस्टिभललाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाको जोड
वि.सं.२०८३ कात्तिक १६ सोमवार १०:०७
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न भएको छ । कात्तिक १३ देखि १५ सम्म चलेको महोत्सवमा विभिन्न भाषा र देशका ४० वटा चलचित्र तथा कथा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको समापनपछि आईतबार सरोकारवालहरुले फिल्म फेस्टिभललाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिनुपर्ने बताइन् । उनका अनुसार महोत्सवलाई नेपालको मौलिकता झल्काउने, आत्मनिर्भर र विश्वस्तरीय चलचित्र महोत्सवका रूपमा विकास गर्ने महानगरको लक्ष्य छ ।
उनले महोत्सवलाई पहिलो संस्करणमै सीमित नराखी नेपाली कला, संस्कृति, सम्पदा र मौलिक कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पु-याउने माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन् । तीन दिनसम्म चलचित्र प्रदर्शनसँगै सम्पदा, पर्यटन, संगीत र सिर्जनात्मक क्षेत्रका विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको उनले जानकारी दिइन् ।
‘काठमाडौं फिल्म फेस्टिभल निरन्तर हुनुपर्छ । पहिलो वर्षमै यसलाई टुंग्याउनु हुँदैन । आज काठमाडौं फिल्म फेस्टिभलको समापन गर्दै छौं, तर काठमाडौंका कथा र देशका कथाहरू कहिल्यै समापन हुनुहुँदैन । यो सुरुवात हो । यसपटक हामीले नेपालको कथा सुनाउने र देखाउने प्रयास गरेका छौं,’ उनले भनिन् ।
डंगोलका अनुसार महोत्सवमा युवा पुस्तालाई दर्शकका रूपमा मात्र नभई चलचित्र निर्माणमा समेत सहभागी गराउने प्रयास गरिएको थियो । युवालाई प्रोत्साहन गर्न तीन मिनेटको लघुचलचित्र र पाँच मिनेटको छोटो भिडियो प्रतियोगिता आयोजना गरिएको थियो । महोत्सवलाई संस्थागत रूपमा अघि बढाउन कार्यविधि निर्माण र क्रिएटिभ काउन्सिल गठन गरिएको पनि उनले बताइन् ।
वरिष्ठ कलाकार बसुन्धरा भुसालले पहिलो पटक आयोजना भएको महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न भएको बताइन् । यस्ता महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले नेपाली कला, संस्कृति, परम्परा र मौलिकतामा आधारित चलचित्र निर्माणमा जोड दिइन् ।
‘पहिलो पटक यति भव्य र सभ्य तरिकाले महोत्सव आयोजना हुनु हामी चलचित्रकर्मीका लागि खुसीको कुरा हो । आफ्नो फिल्म परोस् वा नपरोस्, चलचित्रले स्थान पाउनुपर्छ र कलाकार तथा चलचित्रले न्याय पाउनुपर्छ । हाम्रो देश कला, संस्कृति र सम्पदामा धनी छ । त्यसैले यी पक्ष समेटिएका चलचित्र निर्माण गर्न आवश्यक छ,’ उनले भनिन् ।
भुसालले चलचित्र क्षेत्रमा धैर्य र निरन्तरता आवश्यक रहेको बताउँदै सरकारले कलाकार तथा चलचित्रकर्मीको संरक्षण गर्नुपर्ने धारणा राखिन् । वरिष्ठ कलाकार नीर शाहले महोत्सवलाई नेपाली सांस्कृतिक सम्पदा विश्वसामु चिनाउने अर्थपूर्ण अभियानका रूपमा व्याख्या गरे । काठमाडौं, भक्तपुर र पाटनका सम्पदा, पर्व, भेषभूषा तथा खानपानको संस्कृतिलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पु-याउन सकिने उनको भनाइ छ ।
‘चलचित्र असाध्यै सशक्त माध्यम बन्न सक्छ । आफ्ना पर्व, संस्कृति, वस्त्र र खाद्य संस्कृतिका विभिन्न पक्ष विदेशी पाहुनालाई चिनाउने तथा तिनको व्यापक प्रचारप्रसार गर्ने प्रयास यो महोत्सवले गरेको छ । समग्रमा यो अर्थपूर्ण महोत्सव आयोजना भएको मैले महसुस गरेको छु,’ उनले भने ।
शाहले आगामी संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता बढाउनुपर्ने र चलचित्रका विधा तथा विषयवस्तुको दायरा फराकिलो बनाउनुपर्ने सुझाव दिए । नयाँ पुस्तामा नेपाली चलचित्रप्रति चासो बढाउनुका साथै चलचित्रको विश्लेषण गर्ने बानी विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कलाकार करिश्मा मानन्धरले महोत्सवले चलचित्रकर्मीलाई थप ऊर्जा र प्रोत्साहन दिएको बताइन् । यस्ता कार्यक्रमले नेपाली चलचित्र क्षेत्रमा भइरहेका कामबारे देशभित्र र बाहिरका दर्शकलाई जानकारी गराउन सहयोग पुग्ने उनको भनाइ छ ।
‘हामी चलचित्रकर्मीले चलचित्र निर्माण गर्दा मेहनत गरिरहेका हुन्छौं । तर, यस्ता उत्सव र महोत्सवले थप ऊर्जा दिन्छन् । साथै देशविदेशका दर्शकलाई नेपाली चलचित्र क्षेत्रमा कस्ता काम भइरहेका छन् भन्ने जानकारी पनि हुन्छ । यो महोत्सव निरन्तर हुनुपर्छ र हरेक वर्ष आयोजना गरिनुपर्छ,’ उनले भनिन् ।
महोत्सवको पहिलो दिन वसन्तपुरस्थित हनुमानढोकामा सम्पदा पदयात्रा आयोजना गरिएको थियो । समापनका अवसरमा बौद्ध क्षेत्रमा कोरा, दीप प्रज्वलन तथा प्रार्थना गरिएको थियो । आयोजकका अनुसार महोत्सवमा विभिन्न भाषा र देशका ४० वटा चलचित्र तथा कथा प्रस्तुत गरिएका थिए ।

























