सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवाल जबाफ
वि.सं.२०७९ असार १६ बिहीवार २०:०६
shares

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेत झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच सवाल जबाफ भएको छ । नयाँबानेश्वरमा बिहीबार ६३औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जबाफ भएको हो ।
कार्यक्रममा नेता खनालले एमालेको संसद् अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर ९ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गरे ।
दुई–दुई पटक संसद् भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनःस्थापित संसद्मा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखा पर्न थालेको खनालको भनाइ छ ।
संसद् भंग गर्ने प्रयास र संसद्मा लामो अवरोध भएको भन्दै खनालले एमालेको आलोचना गरेपछि नेम्वाङले जबाफ फर्काएका छन् ।
एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले भने,‘संसद् अवरोध अहिलेको कुरा गर्नुभयो । विगतमा पनि अवरोध भएको थियो । को–को थियौँ विगतमा अवरोध गर्नेहरु सम्झिऔँ ।’
के कारणले संसद् अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद् अवरोध हुन्छ भनेर पूर्वसांसद् मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’

























