प्रचण्डले घोषणा गरे- अमेरिकासँग एसपीपी सम्झौता हुँदैन
वि.सं.२०७९ असार २ बिहीवार १७:१८
shares

सत्ता घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको भनेर चलेको हल्ला झुटो भएको बताएका छन् । वर्तमान सरकारले एसपीपी सम्झौता नगर्ने पनि प्रचण्डले घोषणा गरेका छन् ।
पार्टीका दिवंगत नेता रितबहादुर खड्काको २१औं स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हल्ला झुटो भएको बताए । ‘एसपीपी सम्झौता भइसक्यो, हुँदैछ रे भन्याजस्तो गरी प्रचार गरिए पनि त्यो झुटो हो’, उनले भने, ‘विल्कुल झुटो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा हाम्रो भएको छलफलमा यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन यो घोषणा म यहाँबाट गर्न चाहन्छु।’
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एसपीपी सम्झौता नहुने भनेर प्रतिवद्धता जनाएको प्रचण्डले उल्लेख गरे । ‘प्रधानमन्त्रीजीले म कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गर्नुभएको छ । कोही भ्रममा पर्न जरुरी छैन’, प्रचण्डले भने ।
यद्यपी विगतमा सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौताको प्रक्रिया अगाडि बढाएको तथ्य भेटिएको प्रचण्डको भनाइ छ ।
‘यो एसपीपी सम्झौता सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ, प्रचण्डले भने, ‘तर हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौं।’, उनले भने ।
























