गृहपृष्ठ अगाडि बढ्यो मेगा र इन्भेष्टमेण्ट बैंकको मर्जर प्रक्रिया, के-के भए सहमति ?
अगाडि बढ्यो मेगा र इन्भेष्टमेण्ट बैंकको मर्जर प्रक्रिया, के-के भए सहमति ?
नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीति लिएको छ । सोही नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न/गाभिनका लागि प्रारम्भिक समझदारी भएको छ ।
समझदारीपत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोज बहादुर शाहले शुक्रबार हस्ताक्षर गरेका छन् । यससँगै दुई बैंकबीच मर्जरको लागि औपचारिक रुपमा कार्य सुरु भएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवं सक्षम संस्थाको रुपमा सुपरिचित छन् । बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पूँजी १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पूँजी १६.१२ अर्ब रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी ३४.४३ अर्ब भई सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्ने बताइएको छ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको ५.९२ अर्ब रहेको छ । कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५०.४६ अर्ब र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुवै बैंक एक आपसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवं सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुने बताइएको छ । यसपछि ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षले बताएका छन् ।
यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुप्रति अध्यक्षद्वयले आभार व्यक्त गरेका छन् ।

प्रकाशित समय : १९:०० बजे

















