गृहपृष्ठ रावलको प्रश्न– देउवा ५औँ पटक प्रधानमन्त्री बन्दा राष्ट्रघात र प्रतिगमन भयो, सातौँपटक भए नेपाल रहला ?

रावलको प्रश्न– देउवा ५औँ पटक प्रधानमन्त्री बन्दा राष्ट्रघात र प्रतिगमन भयो, सातौँपटक भए नेपाल रहला ?

रावलको प्रश्न– देउवा ५औँ पटक प्रधानमन्त्री बन्दा राष्ट्रघात र प्रतिगमन भयो, सातौँपटक भए नेपाल रहला ?

नेकपा (एमाले)का सांसद् डा.भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा परेको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता नै खतरामा परेको बताए । 

‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो,’ उनले भने,‘यस्तै, सोही समयमा महाकाली सन्धी पनि भयो ।’ यस्तै, दोस्रो पटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र पाँचौँ पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिकलगायत सम्झौता हुँदैछन् । पूर्वरक्षामन्त्रीसमेत रहेका रावलले अहिले उठिरहेको प्रश्नको निरुपण गर्न नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न माग गरे । 

 रावल बोल्दा बोल्दै संसद् बैठकमा भित्रिएका प्रधानमन्त्री देउवाले उनको कुरामा हाँस्दै टाउको हल्लाएका थिए । देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौँ पटक प्रधानमन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको टिप्पणी गरे । 

‘यो गतिविधिले नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ । उहाँ ५ चोटी प्रधानमन्त्री बन्दा त यस्तो छ देशको हालत । ७ चोटी प्रधानमन्त्री बन्नुभयो भने कस्तो होला ?,’ उनले थपे,‘उहाँ ७ पटक प्रधानमन्त्री बन्दा नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो ।’

प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिम सेती आयोजना भारतलाई दिनु, अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको रावलले बताए । 

यस्तै, रावलले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्दा बखत भएको १२ बुँदे व्याख्यात्मक सम्झौता संसद्मा पेस नगर्नुको कारण सोधेका छन् । ‘व्याख्यात्मक घोषणामा एमसीसीको सहमतियुक्त पत्र प्राप्त बिना सम्झौता कार्यान्वयन अघि किन बढाएको,’ रावलले सरकारलाई सोध,‘प्रधानमन्त्रीको अमेरिका भ्रमणमा हुने कार्यसूची के–के हुन् ? यसबारे संसद्लाई जानकारी किन नगरिएको हो ?’ 

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु