गृहपृष्ठ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा संघईको सम्बोधन, साझाहितका लागि सहकार्य गर्न विश्वलाई आग्रह
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा संघईको सम्बोधन, साझाहितका लागि सहकार्य गर्न विश्वलाई आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले स्वीजरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११० औं अधिवेशनलाई नेपालको रोजगारदाताको तर्फबाट सम्बोधन गरेका छन् । सम्मेलन गत जेठ १३ गतेदेखि शुरु भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै रोजगारदाता परिषद्का सभापति संघईले कोभिड महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभाव, श्रम बजार, सामाजिक-आर्थिक क्षेत्रमा छिटोछिटो भइरहेको परिवर्तनका कारण अति कम विकसित मुलुकलाई शताब्दी विकासको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताए । यसमा ठूला र सम्पन्न राष्ट्रहरूले साना राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
सम्पूर्ण विश्वले बहुआयामिक चुनौतीको सामना गर्नु परिरहेको सन्दर्भ उल्लेख गर्दै उनले अधिवेशनमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेकोमा अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकलाई धन्यवाद ज्ञापन गरे । राष्ट्रहरू बीचको बढ्दो अन्तरनिर्भरताका कारण कुनै पनि भागमा उत्पन्न हुने घटना, अशान्ति, अस्थिरताले सम्पूर्ण विश्वनै प्रभावित हुने तथ्य उल्लेख गर्दै सभापति संघईले खाद्यान्न तथा इन्धनको सन्निकट विश्वव्यापी समस्यातर्फ ध्यानाकर्षण गराए । साथै उनले उक्त समस्या समाधानमा विश्व एकजुट हुनुपर्नेमा जोड दिंदै यस्ता समस्याबाट विशेषगरी साना राष्ट्रहरू बढी प्रभावित हुनेमा चिन्ता व्यक्त गरे ।
स्थिरता र आपसी सहयोगको माध्यमबाटै चुनौतीको सामना गर्न सकिने कुरामा जोड दिँदै परिषद्का सभापति संघईले साझाहितका लागि सहकार्य गर्न विश्व समूदायलाई आग्रह गरे । कोभिड विरुद्धको खोपबाट संक्रमण निकै घटना गएको भएपनि यो पुरै निर्मुल भई नसकेकाले सर्तक रहनु पर्नेमा जोड दिए ।
उपाध्यक्ष संघईले कार्यशैली र कार्य वातावरणमा पछिल्लो पटक निकै धेरै परिवर्तन भइसकेकोले नयाँ वातावरणमा काम गर्न स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र कार्य स्थल सुधारको आवश्यकता औँल्याए ।
कोभिड महामारीबाट भएको नोक्सानीको क्षतिपूर्ति एवं पुनरूत्थान तर्फ प्रयत्नशील रहेको अवस्थामा उच्च व्यापार घाटा, नकारात्मक शोधनान्तर स्थिति, न्यून लगानी एवं तरलता अभाव लगायतबाट नेपाली उद्योग व्यवसाय प्रभावित हुन पुुगेको जानकारी उनले जानकारी गराए । विभिन्न चुनौती र समस्याका बाबजुद नेपालको निजी क्षेत्र आर्थिकवृद्धितर्फ उन्मुख रहेको उनले विश्व समुदायसमक्ष जानकारी गराए ।
अन्तर्राष्ट्रिय श्रम संगठनले निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै उपाध्यक्ष संघईले अन्तर्राष्ट्रिय श्रम संगठनको नयाँ रणनीतिसहित काम गर्ने र यसबाट सदस्य मुलुकले भोगिरहेका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरे ।
प्रकाशित समय : १६:२२ बजे


















